४६ बर्षको उमेरमा निरुता बल्ल केटा चाहियो |

0
124

पुष २३ काठमाण्डौ | एक समय नेपालका ‘रोना धोनावाला’ फिल्मको पर्यायजस्तै थिइन्, अभिनेत्री निरुता सिंह। फिल्म ‘दक्षिणा’ बाट नेपाली सिनेमामा प्रवेश गरेकी उनले त्यसपछिको एक दशक यस्तै भूमिकामा एकछत्र राज गरिन्। उनले अभिनय गरेका ‘आफ्नो मान्छे’, ‘दर्पण छायाँ’, ‘ठूल्दाइ’ लगायत फिल्म हिट छन्।

फिल्म ‘फर्की आऊ’ पछि भारतको मुम्बई हानिएकी निरुता सात वर्षपछि फिल्म ‘नाइँ नभन्नू ल ५’ बाट फेरि पर्दामा फर्किइन्। हाल ‘दाल भात तरकारी’को सुटिङमा व्यस्त उनीसँग ‘सम्पूर्ण’का लागि सामीप्यराज तिमल्सेना र सृजना खड्काले खुलस्त संवाद गरेका छन्।
करिब सात वर्षपछि तपाईं ‘नाइँ नभन्नू ल ५’ मार्फत अभिनयमा फर्कनुभयो। पहिलो अनुभव के थियो ?

लामो समयपछि मैले ‘नाइँ नभन्नू ल–५’ मा काम गरेकी थिएँ। सुरुमा के होला ? भनेर खुलदुली थियो। तर, खासै नौलो अनुभव भएन। जति नै लामो ग्याप भए पनि एक्टिङको भोक वा नशा कलाकारमा सधैँ हुँदो रहेछ।

यहाँको वातावरणलाई भने मैले धेरै मिस गरेकी थिएँ। सुटिङ सेटमा दिलिपजी पछाडिबाट मेरो आँखा छोपेर आउनुभयो। उहाँलाई देख्नेबित्तिकै म ‘आउट अफ कन्ट्रोल’ भएँ। अँगालो हालेर धेरै बेर रोएँ। उहाँ पनि भावुक हुनुभयो। हामी फेरि फर्केर त्यही समयमा पुगेको जस्तो लाग्यो।

एक समय एकदमै ‘पिक’मा हुनुहुन्थ्यो, हिरोले भन्दा धेरै पैसा लिनुहुन्थ्यो। यति हुँदाहुँदै नेपाली फिल्मलाई अचानक छाडेर किन जानुभयो ?

त्यो बेला फिल्मको स्तर घट्दै गयो। जस्तो पाए त्यस्तै फिल्म बन्न थाल्यो। जो पनि निर्माता, निर्देशक, हिरो, हिरोइन बन्न थाले। फिल्मको सुटिङ हेरेको भरमा निर्देशक हुन्थे। एकदुई पैसा जोरजम्मा हुनेबित्तिकै निर्माता।

नयाँ निर्माता, निर्देशक आउनुुलाई मैले नराम्रो मानेको होइन। यो ठाउँमा काम सिकेर आउनुपर्छ भन्ने मेरो धारणा थियो। तर, काम नसिकी आउँदा हामीलाई अप्ठ्यारो प¥यो। मलाई त्यो वातावरण पटक्कै राम्रो लागेन। ‘अब मैले काम गर्नु हुँदैन’ भन्ने लागेर छाडेँ।

फिल्म छाडेर सीधै मुम्बई जानुभयो। फिल्म छाडिसकेपछि मुम्बई जाने सोच आयो कि मुम्बई जानको लागि फिल्म छाड्नुभयो ?

मलाई यहाँको वातावरणले हैरान बनाइसकेको थियो। मैले त्यो हेर्नै सकिनँ। त्यसको लागि विकल्प खोज्न थालेँ। मलाई इन्टेरियर डिनाइनिङमा पहिलादेखि नै रुचि थियो। त्यसैको कोर्स गर्छु भनेर मुम्बई गएँ। छ महिनाको लागि भनेर गएकी थिएँ। फेरि फर्केर आउँछु भन्ने पनि थियो। पछि उतै बसियो। समय कति छिटो बित्यो पत्तै लागेन।

इन्टेरियर डिजाइन कहाँ पुग्यो त अहिले ?

त्यो पनि कता पुग्यो, पुग्यो। सबै कुरा चेन्ज भयो।

उता अभिनयका लागि कोसिस गर्नुभएन ?

कार्बन मोबाइलको विज्ञापन गरेकी थिएँ। अरू त्यस्तो एक्टिङ नै चाहिँ गरिएन। त्यहाँ भेटघाट, चिनजान हुने सबैले मलाई नेपालको सुपरस्टार भनेर चिन्थे। त्यहाँका मनिसहरूले मलाई हेर्ने दृष्टिकोण नै फरक छ। नेपालमा त्यत्रो नाम कमाएर गएको मान्छे मुम्बईमा हजारौँको भीडमा लाइन बस्न मन लागेन।

एक जना साथीको प्रोडक्सन हाउस छ। म त्यही एड्भाइजरको रूपमा काम गरिरहेकी छु। म जहाँ बसे पनि फिल्मसँग सम्बन्धित भएर बस्न चाहन्थेँ। उता पनि फिल्मसँगै सम्बन्धित क्षेत्रमा काम गरिरहेको हुनाले खुशी छु।

अब नेपाली फिल्मलाई नै निरन्तरता दिनुहुन्छ कि अरू नै केही सोच छ ?

‘नाइँ नभन्नू ल–५’ मा मेरो गेस्ट रोल थियो। त्यो फिल्म गरेपछि धेरै जनाले मलाई ‘निरुताजी, यो फिल्ममा थोरै सिनमा मात्र देख्न पाइयो। पूरै फिल्ममा कहिले हेर्न पाइन्छ ?’ भन्नुभयो। मेरो इन्स्टाग्राम र फेसबुकको म्यासेज बक्स यस्तै प्रश्नहरूले भरिएका छन्।

यिनै कुराले मलाई फिल्ममा कमब्याक गर्न घच्घच्यायो। जस्तो पायो त्यस्तो फिल्म गर्दिनँ भन्ने थियो। केही समयअघि किरण केसी दाइको फोन आयो। उहाँले मह सञ्चारबाट ‘दाल भात तरकारी’ फिल्म बनाउन लागेको बताउनुभयो। उहाँहरूसँग काम गर्ने ठूलो धोको थियो।

मह सञ्चारबाट बन्ने फिल्म भन्नेबित्तिकै मैले ओके भनेँ। हरि दाइ र मदन दाइसँग काम गर्न पाउनु मेरो लागि ठूलो कुरा थियो। अहिले धेरै फिल्मका कुरा आइरहेका छन्। वजन भएको क्यारेक्टरमा काम गर्न पाएँ भने अझै काम गर्छु

अबको फोकस के हुन्छ ? एउटा–दुइटा फिल्म गरेर मुम्बई नै फर्किनुहुन्छ कि फेरि निरुता सिंह नै बनेर नेपाली फिल्ममा आउनुहुन्छ ?

यहाँ बस्नलाई मेरो घर छैन। घर, परिवार, बसाइ सबै उतै छ। पहिला पो काम पनि यतै थियो। बसाइ पनि यतै थियो। अहिले त यहाँ नामबाहेक केही छैन। त्यसैले मुम्बई त जानैपर्छ। पहिला जुन हिसाबले एकपछि अर्को ननस्टप फिल्म गरेँ, त्यो हिसाबले गर्दिनँ।

यत्रो समयपछि फर्किदा पनि दर्शकको माया मप्रति उत्तिकै छ। उहाँहरूले मप्रति आशा राख्नुभएको छ। मैले उहाँहरूको आशालाई निराशामा परिवर्तन गर्नु हुन्न। वर्षमा एकदुई वटा फिल्म होस्। तर, राम्रो ब्यानर र विषयकोे फिल्म भए मात्र गर्छु।

तपाईंलाई गर्न मन लागेको त्यस्तो कुनै ‘ड्रिम रोल’ छ ?

यो नै भन्ने त छैन। तर, मेरो उमेरको हिसाबले मिल्ने खालको रोल आयो भने गर्छु। अब मैले कलेजको टिनेजर केटीको रोल गर्न मिल्दैन। भारतीय फिल्म ‘मम’, ‘हेलिकप्टर इला’, ‘इंग्लिस विंग्लिस’ टाइपको फिल्म आयो भने गर्छु।

समयसँगै तपाईंको रोलमा पनि ‘सिफ्ट’ आयो है। टप हिरोइन हुँदाहुँदै अहिले आमाको भूमिका गर्नुपरेको छ। मानसिक रूपमा आफूलाई त्यो चिजमा ढाल्न कत्तिको गाह्रो वा सजिलो भयो ?
यो कुरामा कन्भिन्स्ड हुन मलाई पटक्कै गाह्रो भएन। ‘दर्पण छायाँ’ गर्नुभन्दा अगाडि नै ‘१६ वर्षे जोवन’ भन्ने फिल्ममा मैले दिलिपजीको आमा भएर काम गरिसकेकी थिएँ।

मैले ‘खानदान’मा राजेश हमालको पनि आमा बनेर खेलेकी छु। अरू पनि थुप्रै फिल्म छन् जहाँ मैले आमाको भूमिकामा काम गरिसकेकी छु। दिदीबहिनी, आमा मलाई जे बन्न पनि समस्या छैन तर फिल्ममा मेरो सार्थकता हुनुपर्‍याे बस्।

‘दर्पण छायाँ’लाई उत्तम प्रधान र तपाईं मिलेर फेरि ‘रिमेक’ गर्ने भन्ने कुरा आइरहेका छन्, साँचो हो ?
हो। उत्तमजी एकदमै क्रिएटिभ हुनुहुन्छ। उहाँले त्यो सोच बनाउनुभएको छ। ‘दर्पण छायाँ’को स्टोरी जहाँसम्म पुगेर सकियो, त्यहीँबाट फेरि नयाँ स्टोरी सुरु गर्ने भएका छाैँ। कथाको कन्सेप्ट उहाँले मलाई फोन गरेर सुनाउनुभएको थियो। मलाई पनि एकदमै राम्रो लाग्यो। त्यो फिल्ममा पनि दिलिप, उत्तम र म तीनै जना हुन्छौँ।

तपाईंको जेनेरेसनको सबै हिरोइन आ–आफ्नो ठाउँमा सेटल भइसक्नुभयो। तपाईंहरूको बीचमा कत्तिको कुराकानी हुन्छ ?
अरूसँग खासै हुँदैन। जलसँग बेला–बेलामा फोनमा कुरा हुन्छ। विपनासँग धेरै वर्ष भइसक्यो भेटघाट नै छैन। त्यो समयका सबै जनासँग एकचोटि भेट्ने इच्छा छ। त्यो बेला सबै जना आ–आफ्नै काममा व्यस्त भइन्थ्यो। नजिक भएर होला खासै मतलब पनि हुँदैनथ्यो। अहिले ती दिन साह्रै मिस हुन्छ।

अहिलेको पिँढीसँग काम गर्दा कस्तो महसुस भइरहेको छ ?
नयाँ कलाकारलाई मैले खासै चिनेको थिइनँ। त्यसैले कस्ता होलान् ? भन्ने लागेको थियो। अहिले आँचल र पुष्पसँग काम गरिरहेकी छु। उनीहरू निकै रमाइला छन्। म उनीहरूको सिनियर हो जस्तै लाग्दैन। उनीहरू पनि ‘हजुर त हामीलाई साथीजस्तै लाग्छ’ भन्छन्। मलाई उनीहरू नयाँ कलाकार हो भन्ने फिल हुँदैन।

नयाँ पिँढीका कसैको फिल्म हेर्नुभएको छ ?
खासै हेर्न पाएकी छैन। तर, यहाँ आएपछि नेपाली फिल्मले राम्रो गति लिएको पाएँ। हाम्रो पालामा यति साह्रो एड्भान्स कहाँ थियो र ? इन्टरनेट थिएन। सिक्ने ठाउँ थिएन। अहिले आउनेहरू सिकेर र परिपक्व भएर आउँछन्। पुरानो कलाकारबाट धेरै कुरा सिकियो। अब नयाँ कलाकारबाट पनि हामीले सिक्नुपर्छ। आफूलाई अपडेट गर्नुपर्छ।

प्रविधिले त्यो बेला आफूलाई पछाडि पार्‍यो भन्ने लाग्छ कि लाग्दैन ?
एकदमै लाग्छ। त्यो बेला मार्केट नै थिएन। बजेट कम हुन्थ्यो। ३०–३५ लाखमा फिल्म बन्थ्यो। ६० लाख कटेको फिल्मलाई जिब्रो टोकिन्थ्यो। टेक्नोलोजी पनि खासै एड्भान्स थिएन। क्यामेरा म्यानले हेरेर ओके भनेको भरमा सुटिङ हुन्थ्यो। अहिले त डिजिटलाइज भइसक्यो। आफ्नो सट मन परेन भने फेरि टेक लिन मिल्छ। मार्केटमा आएपछि हिन्दी फिल्म हो कि नेपाली चिन्नै मुस्किल परिसक्यो। यही स्तरको नेपाली फिल्म म हेर्न चाहन्थेँ। यो देखेर एकदमै गर्व लाग्छ।

मुम्बईमा बस्दा नेपालबारे जानकारी कसरी राख्नुहुन्छ ? कि मतलब नै हुँदैन ?
हैन, हैन। किन मतलब नहुनु। चिनजानको व्यक्ति यहाँबाट उता गएको थाहा पाएपछि भेट्न जान्छु। उहाँहरूसँग यताको बारेमा सोधिरहन्छु। उताकै साथीहरूलाई पनि ‘हेर, हाम्रो नेपाली फिल्म यस्तो हुन्छ’ भन्दै देखाइरहन्छु। उता बस्दा यताको धेरै कुरा मिस गर्छु। आफ्नै पुराना फिल्म हेर्दा सपना जस्तो लाग्छ। त्यत्रो काम मैले नै गरेको हो र ? भन्ने लाग्छ।

सानै उमेरमा फिल्म क्षेत्रमा प्रवेश गर्नुभयो, पहिलादेखि नै कलाकार बन्छु भन्ने थियो ?
पढेर यस्तो मान्छे बन्छु भनेर मैले कहिल्यै सोचिनँ। सानैदेखि हिरोइन बन्ने रहर मभित्र पसेको थियो। घरमा बस्दा पनि टिपटप भएर हिरोइन जस्तै बस्नुपथ्र्यो मलाई। परिवारमा सबैलाई यो कुरा थाहा थियो। माइली दिदीले हिरोइन बन्न सधैँ उक्साइरहनुहुन्थ्यो।

यहाँ प्रदर्शन भएको धेरैपछि मात्रै दार्जलिङमा नेपाली फिल्म पुग्थ्यो। नेपाली फिल्म लागेको बेला हामीलाई दशैँ आएको जस्तै हुन्थ्यो। हिरोइनमा तृप्ति दिदी र हिरोमा भुवन दाइलाई मात्र चिन्थेँ। स्कुल पढ्दाताका आफन्तको माध्यमले फिल्मको लागि अफर आयो। मेरो फोटो पढाइदिने कुरा भयो। त्यो बेलामा फोटोसुट गर्ने चलन पनि थिएन।

जस्तो थियो त्यस्तै फोटो पठाएँ। उहाँहरूले मन पराउनुभयो। पछि घरमै आएर तुलसी दाइ (तुलसी घिमिरे)ले हेर्नुभयो र मलाई ‘दक्षिणा’का लागि लिनुभयो।

भनेपछि, फिल्ममा आउन परिवारको पूर्ण समर्थन थियो ?
थियो। मेरो दुई जना दिदी, एक जना दाइ अनि म हो। म चाहिँ कान्छी छोरी। सबैले मलाई एकदमै माया गर्छन्। उनीहरूले मलाई आफ्नो बच्चाजस्तै गर्छन्। उनीहरूसँग हरेक दिन फोनमा कुरा भइरहन्छ। मैले खाए÷खाएन, सञ्चो-बिसञ्चो सोधिरहन्छन्। उनीहरूलाई आफ्नो छोराछोरीको भन्दा मेरो बढी चिन्ता लाग्छ।

कारण पनि त छ नि ! तपाईं अहिलेसम्म एक्लै हुनुहुन्छ, जोडी बाँध्नुभएको छैन ?
आयो है कुरा आयो। मिंगल हुनलाई पर्खेर बसिरहेकी छु। को आउँछ थाहा छैन।

तपाईंलाई मन पराउने धेरै छन्, तपाईंले मन पराउने भेटिन चाहिँ किन यति गाह्रो भएको ?
जुन मान्छेसँग बिहे हुनु छ त्यो मान्छे जीवनमा आएपछि अटोमेटिकल्ली आफूलाई फिल हुन्छ होला। अहिलेसम्म त्योे खालको फिलिङ्स नै कसैसँग आएको छैन। ‘ल है योसँग चाहिँ बिहे गर्छु’ भनेर भित्र मनबाट आए पो !

बिहेप्रति नै वितृष्णा त होइन नि ?
होइन, होइन। म बिहे नै गर्दिनँ भन्ने पक्षमा छैन। तर, ‘ही इज द वान’ भन्ने खालको व्यक्ति नै जीवनमा आएन। मनमा घण्टी नै बजेन। त्यसैको पर्खाइमा छु।स्रोत internetsansar |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here