ऐसेलुखर्क गाउँपालिकाको सात विद्यालयमा सोलार जडान

0
155

खोटाङ, २ माघ-ऐसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ ।

त्रिभुवन मावि (एैसेलुखर्क), माक्पा मावि (माक्पा), कालिका बालविकास मावि (राखा), कालिका मावि (बाकाचोल), शान्तोद्धय मावि (ज्यामिरे), सिम्ले मावि (जलेश्वरी) र शिशु मावि (महेश्वरी)मा सोलार प्यानेल जडान गरिएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुरको आर्थिक सहयोगमा प्रत्येक विद्यालयमा दुई-दुई किलोवाट क्षमताको सोलार प्यानेल जडान गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए। उनले भने, “सोलारले कम्प्युटर कक्षा सञ्चालन, इ–हाजिरी, शिक्षण सिकाइमा सहज र विद्युतीय काममा सहयोग पुगेको छ ।”

गाउँपालिकाको पहलमा एपेक्स सौर्य ऊर्जा कम्पनीले उक्त विद्यालयमा सोलार प्यानेल जडान गरिएको जनाइएको छ । सौर्य प्रणाली जडान गरिएपछि सबै विद्यालयमा कम्प्युटर कक्षा शुरु गरिएको छ । सात वटा वडा रहेको उक्त गाउँपालिकामा आठ वटा मावि रहेको छ । आठ माविमध्ये जालपा मावि बाकोचोलमा जडान गर्न बाँकी रहेको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिए।

गाउँपालिका प्रमुख निरौलाका अनुसार उक्त विद्यालयमा पनि सर्वेक्षणको काम सकिएकाले चाँडै नै जडान गरिने जनाइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् भरपर्दो नभएपछि उक्त विद्यालयमा सौर्य प्रणाली जडान गरिएको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिए। सौर्य ऊर्जाबाट विद्यालयमा जुनसुकै समयमा पनि कम्प्युटर कक्षालगायत विद्युतीय काम गर्न सहज भएको सिम्ले मावि जलेश्वरीका प्रधानाध्यापक नीरकुमार कट्टेलले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here