आमा समूहको सक्रियतामा घरबास सञ्चालन

0
196

लमजुङ, ७ माघ-बेंँसीशहर नगरपालिका–६ पुमा गाउँका महिलाले घरबास (होस्टे) सञ्चालन गरेका छन् । कन्यादेवी आमा समूहमा आवद्ध महिलाले घरबास शुरुआत गरेका हुन ।

गाउँका पाँच घरमा पूर्वाधार तयार गरी घरबास सञ्चालनमा ल्याइएको सञ्चालक समेत रहेकी आमा समूहका अध्यक्ष सुकमाया गुरुङले बताइन्। सञ्चालक प्रत्येकले आमा समूहबाट घरबासका लागि ४० हजार ऋण लिएका छन् । “पूर्वाधार निर्माणमा दुई लाख खर्च भएको छ,” उनले भनिन्, “अन्य रकम होमस्टे सञ्चालकले आफै जुटाएका हुन् ।”

केही घरमा नयाँ तथा केहीमा पुराना कोठालाई व्यवस्थित गरिएको छ । प्रत्येक घरमा ६÷६ जनालाई राख्न सकिने कोठा तयार गरिएको छ । “एकै पटक ३० जनासम्म पाहुना राख्न मिल्ने गरी संरचना निर्माण गरिएको छ,” गुरुङले भनिन्। पाहुना बढी भए गाउँका अन्य घरमा राख्ने व्यवस्था मिलाइएको छ ।

कोदोबाट बनाइएको ढिँडो, रोटी, लोकल कुखुराको मासु, मकै, फर्सी, बन्दागोभी, काउली, ब्रोकाउली, आलुलगायत अग्र्यानीक परिकार पाहुनालाई खुवाइने घरबास सञ्चालक बताउँछन् । एक रातको प्याकेज एक जना बराबर ५५० तोकिएको छ । स्थानीयवासी दुर्गाबहादुर गुरुङका अनुसार गाउँमा आउने पाहुनालाई घाँटु, कृष्णचरित्र, झ्याउरेलगायत नाच देखाइन्छ ।

पुमा गाउँमा ४८ परिवारको बसोबास छ । स्थानीयवासीले आयआर्जन बढाउन र पर्यटन प्रवद्र्धन गर्न सामूहिक चियाखेती तथा कफीखेती थालेका छन् । प्रायः सबैले तरकारीखेती गर्दै आएका छन् । बेँंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल घलेगाउँ जाने बाटोमा रहेको पुमा गाउँमा विकासका सम्भावना धेरै रहेको बताउँछन्।

बेँंसीशहरबाट बिम्दाबेँंसी हुँदै ११ किलोमिटरको दूरीमा पर्ने पुमा गाउँ एक घण्टामा पुगिन्छ । चण्डीस्थान हुँदै समेत आठ किलोमिटरको दुरीमा रहेको पुमा गाउँ पुग्न सकिन्छ। चालू आर्थिक वर्षमा सो क्षेत्रको सडकको स्तरोन्नतिको काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here