खोटाङको चुइचुम्मा गाउँपालिकाको सबै वडामा सडक विस्तार

0
278
file photo

खोटाङ, ८ माघ-खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा सडक विस्तार भएपछि स्थानीयवासीलाई यातायात आवागमनमा सहज भएको छ । गाउँपालिकाले सबै वडामा सडकको पहुँच पुर्याएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकासहित अन्य छिमेकी गाउँपालिकाका स्थानीयलाईसमेत यातायातमा सहज भएको हो ।

सात वडा रहेको गाउँपालिकामा स्थानीय सरकार गठन भएपछि सडकको सञ्जाल फराकिलो पार्दै साना तथा ठूला सवारीसाधन सञ्चालनमा ल्याएको छ । कच्ची अवस्थामा भएपनि सबै वडामा विस्तार गरिएको सडक सञ्चालनमा आएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको टेम्मा र साकेला गाउँपालिकाको सिमानामा पर्ने तावाखोलामा अस्थायी सडक बनेपछि अहिले यातायात आवागमन सहज भएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। गाउँपालिकामा जताततैबाट सडकको पहुँच पुगेपछि विकासले समेत फड्को मारेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल र तराई जोड्ने छोटो दूरीको सडक बनेपछि दुई-तीन दिन लगाएर तराई तथा अन्य स्थान जानुपर्ने बाध्यता हटेको छ । विकासको पहिलो खुड्किलो सडकलाई प्राथमिकता दिँदै गाउँपालिकाले दिक्तेल–खानीडाँडा याम्खा पञ्चमीबजार, दिक्तेल–मात्तिम–टेम्मा पञ्चमीबजार, पञ्चमीबजार–वातुखुम, पञ्चमीबजार–लिच्किराम्चेको रसुवाबजार र पञ्चमीबजार–बतासेको रेग्मीटार सडक निर्माण गरेर सञ्चलानमा ल्याएको हो ।

गाउँपालिकाले खोलेको सबैभन्दा छोटो दूरीको सडक दिक्तेल–खानीडाँडा–याम्खा सडकखण्डमा पक्की पुल निर्माण हुँदैछ । जसको लागि बोलपत्र आह्वानको काम अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । पक्की पुल बनेसँगै गाउँपालिकाले उक्त सडकलाई बाह्रै महीना सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

यसैबीच, आठ गाउँपालिकामध्ये विकासमा सबैभन्दा अगाडि रहेको उक्त गाउँपालिकाले मङ्सिर २२ गतेदेखि ६५ वर्षमाथिका सम्पूर्ण ज्येष्ठ नागरिकलाई यातायातमा निःशुल्क सुविधा दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here