कावासोती, १० माघ-नवलपुरमा वर्षाका कारण यहाँ रहेका इँटा उद्योगमा ४५ लाख बराबरको क्षति भएको छ ।
वर्षाका कारण नवलपुरमा रहेका नौ वटा इँटा उद्योगमा सुकाइएको काँचो इँटा बिग्रिदा ४५ लाख बराबरको क्षति पुगेको नवलपुर इँटा उद्योग व्यवसायी समितिका अध्यक्ष हरिकृष्ण महर्जनले जानकारी दिए।
अध्यक्ष महर्जनका अनुसार यहा“ रहेका प्रत्येक उद्योगमा करीब दुई लाखका दरले काँचो इँटा पानीका कारण नष्ट भएको हो । पानीका कारण १८ लाख इँटा नोक्सानी भएको उहाँले बताए। क्षति भएको इँटा आगोको भट्टीमा प्रयोग गर्न नमिल्ने र पुनःमाटोको रुपमा प्रयोग गरी नया“ इँटा बनाइने अध्यक्ष महर्जनले जानकारी दिए।
इँटालाई आगोमा पकाउनुपूर्व केही दिनसम्म घाममा सुकाउनुपर्ने हुन्छ। तयारी अवस्थामा रहेका सुकाएका इँटामा अकस्मात् परेको वर्षाका कारण क्षति पुगेपछि इँटा उद्योगी चिन्तित बनेका छन्। यस्तै वर्षाका कारण नवलपुरमा लगाइएको तोरी खेतीमा समेत नोक्सान पुगेको छ।
पाकेर थन्काउने अवस्थामा रहेको तोरीमा वर्षाका कारण नोक्सान पुर्याएको कृषक मदन पौडेलले बताए। तोरी उखेलेर सुकाएको अवस्थामा खेतमै रुझेपछि बोटबाट तोरीका दाना झर्ने, पानीका कारण दान फुल्ने हुँदा तेल कम निस्कने कृषक पौडेलले जानकारी दिए।