स्वाइन फ्लूबाट डराउनुपर्दैन ! डाक्टर भन्छन्– तातोपानीले ठीक हुन्छ

0
164
file photo

 काठमाडौं-शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा दैनिक ८/१० जना रुघाखोकीका विरामी पुग्छन् । निकै आत्तिरहेका उनीहरु डाक्टरसँग भन्छन्, ‘मलाई स्वाइन फ्लू भएको त होइन नि ?’

परिक्षणपछि थोरैमा मात्र स्वाइन् फ्लू भेटिएका छन् । टेकु अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार अहिले आईसीयूमा दुई जना स्वाइन फ्लूका विरामी उपचाररत छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १ देखि २२ जनवरीसम्ममा चार सय ३१ जनाको खकार परिक्षण ग¥यो, जसमध्ये ५० प्रतिशत मानिसमा एचवनएनवन पोजटिभ देखिएको थियो ।

प्रयोगशालाका निर्देशक डा. हरिषचन्द्र उप्रेतीका अनुसार नोभेम्बर र डिसेम्बरको तुलनामा जनवरीमा स्वाइन फ्लू तीन गुणा बढी देखिएको छ । जनमानसमा पनि अहिले स्वाइनफ्लु’bout त्राश बढेको छ । तर, डाक्टरहरु स्वाइन फ्लूसँग आत्तिनु नपर्ने बताउँछन् ।

‘एचवनएनवन भाइरस सामान्य रुघाखोकी हो । यसमबाट मृत्यु हुने सम्भावना अत्यन्तै न्युन हुन्छ’ डा. उप्रेतीले भन्छन्, यदि जनावरबाट सरेको भए मात्र खतरनाक हुन्छ । त्यस्तो अहिलेसम्म देखिएको छैन ।’

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि जाडोमा लाग्ने रुघाखोकी सामान्य भएको बताउँछन् । ‘पछिल्लो समय विरामी निकै अत्तालिएर आउनुहुन्छ । उहाँहरुलाई राम्रोसँग काउन्सिलिङ गरेर पठाउँछु’ डा. पुनले आनलाइनखबरसँग भने, ‘कहिले काहीँ इन्फ्लुन्जा पोजटिभ भेटेमा उपचारको लागि पठाउने पनि गर्छु ।’

डा. पुनका अनुसार खासगरी यो समयमा दुई प्रकारको रुघा–खोकी लाग्ने गर्छ । एउटा मौसमी रुघाखोकी हुन्छ, जसलाई कमन कोल्डको रुपमा चिनिन्छ । अर्को, फ्लू । अचानक चर्को ज्वरो आउने, टाउकोे–घाँटी दुख्ने, दिशा पातलो देखिने समस्या भएमा त्यसलाई फ्लूको रुपमा लिनुपर्छ । तर, स्वस्थ मानिसलाई लाग्ने स्वाइन फ्लूलाई चिकित्सकहरु गम्भीर समस्याका रुपमा लिँदैनन्।

विश्वमा पहिलो पटक सन् २००९ मा स्वाइन फ्लु देखापर्‍यो । जसलाई ‘इनफ्लुएन्जा एचवानएनवान पीडीएम ०९’ नाम दिइयो । त्यसको दुई महिनापछि नेपालमा पनि देखापर्‍यो । त्यसपछि अहिलेसम्म स्वाइन फ्लु’bout त्रास सनसनीपूर्ण ढंगले फैलिएको छ ।

निर्देशक डा. उप्रेतीकाअनुसार मानिसबाट मानिसमा सर्ने स्वाइन फ्लू सामान्य हो । यस्तो फ्लू वर्षको तीन पटक आउने र जाने गर्छ । त्यसैले आत्तिनु पर्ने कुनै कारण छैन । तर, क्रोनिक डिजिज भएमा वा निमोनियाजस्ता समस्या निम्तिएको अवस्थामा भने सचेत हुनुपर्छ । यस्तो भाइरसको ‘टेमी फ्लू’ नामक औषधी उपलब्ध छ । यो सरकारले निःशुल्क प्रदान गर्छ ।

मानिसहरुले समूह छुट्याउन नसकेर वा सोलोडोलोमा हेर्ने कारण स्वाइन फ्लूलाई मानिसले भयावह मान्ने गरेको डा. पुनको बुझाइ छ ।

स्वाइन फ्लू बच्चा एवं बृद्धका लागि भने खतरनाक हुनसक्छ । यस्तै उच्च रक्तचाप, मधुमेहका रोगीहरुलाई पनि स्वाइन फ्लू लागेमा जटिल अवस्था आउन सक्छ । लामो समयदेखि औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, दमका विरामी पनि यसको उच्च जोखिममा हुन्छन् ।

‘स्वाइन फ्लू लागेमा यस्ता मानिसहरु जोखिम समूहमा पर्छन्, जससँग रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । नत्र यो सामान्य समस्या हो,’ डा. पुनले अनलाइनखबरसँग भनेका छन् ।

डा. पाण्डेले पनि स्वाइन फ्लूकै कारण मृत्यु हुने सम्भावना एक प्रतिशतभन्दा पनि कम हुने बताउँछन् । उनी भन्छन्, ‘तातोपानी खाएर आराम गरेपछि यो आफैं निको हुन्छ ।’

टेकु अस्पतालमा हालै स्वाइन फ्लुका एक जना बिरामीको मृत्यु भयो । शहिद गंगलालबाट आएका उनीमा निमोनिया पनि थियो । प्यारालाइसिसको कारण एक हर चल्दैनथ्यो । त्यसैले उनको स्वाइन फ्लूको कारणले मात्र मृत्यु भएको भन्न नमिल्ने डाक्टरहरु बताउँछन् ।

कतिपय डाक्टरहरुले टेकुमा फोन गरेर भन्ने गरेका छन् कि निमोनियाको उपचार गर्दै मृत्यु भयो, पछि स्वाइनफ्लु देखियो । डा. पुन भन्छन्, ‘स्वाइन फ्लू लागेपछि त्यसले निमोनिया गराउँछ र शरिरका अन्य अंगलाई पनि काम गर्न दिँदैन । अनि निमोनियाकै कारण मृत्यु हुने गर्छ ।’

स्वाइन फुलूको कारण पाँच जनाको मृत्यु भएको विवरण जनस्वास्थ्य प्रयोगशलामा आएको छ । तर, मृत्यु भएका सबै मानिसमा परिक्षण भएको छैन । त्यसैले स्वाइन फ्लूकै कारण मृत्यु भएको भनि किटान गर्न गाह्रो हुने प्रयोगशालाका निर्देशक डा. उप्रेती बताउँछन् ।

‘जनावरबाट सर्ने फ्लूको नाम नै अर्कै हुन्छ । त्यस्तो नेपालमा अझैसम्म फेला परेको छैन’, डा. उप्रेती भन्छन्, ‘कतिपयमा एचवानएनवान ‘ए’ मात्र नभएर ‘वि’ पोजटिभ पनि भेटिएको छ । त्यो थोरै जोखिमपूर्ण हुन्छ तर, यसकै कारण मानिसको मृत्यु हुन्छ भन्ने होइन ।’

उनको अनुसार त्यसरी डराउनुपर्ने कुनै पनि रिपोर्ट आएको छैन ।

mykantipur.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here