सोनाम ल्होछारमा स्थानीय तहमा सार्वजनिक बिदा

0
298

काभ्रेपलाञ्चोक, १३ माघ-तामाङ समुदायको सांस्कृतिक पर्व ड्वाल्हो सोनाम ल्होछारका लागि यहाँका स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

तामाङ समुदायको बाहुल्य रहेका चौँरीदेउराली गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ भने तेमाल, महाभारत र रोशी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएका छन् ।

चौँरीदेउराली गाउँपालिका तामाङ समुदायको आदिभूमि रहेकाले पर्व, धर्म, संस्कृति, संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व रहेको जनाउँदै गत बिहीबारको बैठकले यही माघ २२ र २३ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष दीननाथ गौतमले बताए।

रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारभित्र रहेर सोनाम ल्होछार मान्न यही माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिइएको बताए। उनका अनुसार रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ ।

तेमाल गाउँपालिकाले पनि सोनाम ल्होछारका लागि यही माघ २१ देखि २३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले जानकारी दिए। महाभारत गाउँपालिकाले करीब एक महीनाअघि गत पुस २५ गते नै बैठक बसी ल्होछारमा तीन दिन बिदा दिने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here