रोनाल्डो बने नायक

0
251

झापा,१४ माघ – इटालीको घरेलु लिग सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्टसको अपराजित यात्रा कायमै रहेको छ । गएराती भएको खेलमा युभेन्टसले आफ्नो १९ औं जित दर्ता गराएको छ । युभेन्टसले आइतबार रातिको खेलमा लाजियोसँग २–१ को कठिन जित निकालेको हो ।

लाजियोको घरेलु मैदानमा भएको सो खेल १–१ गोलको बराबरीको स्थितिमा रोकिन लागेको थियो । तर, युभेन्टसका लागि पोर्चुगलका कप्तान समेत रहेका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल लगाए पछि युभेन्टसले जित दर्ता गरेको हो । उनले खेल सकिन दुई मिनेट बाँकी छँदा गोल गर्दै युभेन्टसलाई विजयी तुल्याए ।

त्यसअघि पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्टसले आफ्नै पोस्टमा गोल लगाएपछि १–० ले पछि परेको थियो । खेलको ५९ औं मिनेटमा इम्रे क्यानले आत्मघाती गोल गर्दै लाजियोलाई अग्रता दिलाइदिए ।

खेलको ७४ औं मिनेटमा जाओ क्यान्सेलको गोलमार्फत् युभेन्टसले बराबरी गरेको थियो । त्यसपछि युभेन्टसले खेलको ८८ औं पेनाल्टीको मौका पाएको थियो । त्यस अवसरलाई रोनाल्डोले सदूपयोग गर्दै युभेन्टलाई तीन अंक दिलाए । यससँगै शीर्ष स्थानको युभेन्टसले दोस्रो स्थानको नापोलीभन्दा ११ अंकको अग्रता बनाएको छ । यस्तै उसले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । २१ औं खेलसम्म अपराजित रहेको युभेन्टसले १९ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ५९ अंक बनाएको छ । दोस्रो स्थानको नापोलीसँग ४८ अंक छ ।

यस्तै युभेन्टससँग पराजित लाजियोसँग ३२ अंक रहेको छ । लाजियोले ९ खेलमा जित, ५ खेलमा बराबरी र ७ खेलमा हार व्यहोरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here