काठेखोलामा आठ घरबास

0
182
file photo

बागलुङ, १४ माघ-काठेखोला गाउँपालिकाका आठ स्थानमा सामुदायिक घरबास (होमस्टे) कार्यक्रम शुरु भएको छ । गाउँमा पर्यटक भित्र्याउने लक्ष्यसहित घरबास चलाउन गाउँले कस्सिएका हुन् । घुमफिर, खानपान र संस्कृतिका हिसाबले यहाँका ग्रामीण बस्ती घरबासका लागि उत्तम मानिन्छन् । गाउँपालिका–७ रेशमा मात्रै चार घरबास सञ्चालनमा ल्याइएको छ । बौर, डोटा देउराली, मौरी झरना र रेश सामुदायिक घरबास गरी चार ठाउँमा घरबास कार्यक्रम शुरु भएको हो ।

यस्तै वडा नं ५ बिहुँ, थाम्डाँडामा शिवधुरी, वडा नं ८ लेखानीमा कादेश, वडा नं ४ तङ्ग्राममा फापरखेत झुलेनी र वडा नं ३ धम्जामा बेलढुङ्गा सामुदायिक घरबास सञ्चालनमा आएको छ । रेशका चार वटैमा गरी ३२ घरमा घरबास सेवा शुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताए।

“गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न घरबास कार्यक्रम ल्याइएको हो”, उनले भने। घरबास भर्खर शुरु भएकाले पूर्वाधार तयारी र प्रचारप्रसारलाई बढी जोड दिइएको बौर सामुदायिक घरबासका अध्यक्ष होमबहादुर पुनले बताए। घरबासमा बौरका पाँच, डोटा देउरालीका सात, रेशका नौ र मौरी झरनाका ११ घर समेटिएका छन् । सबैमा गरी झण्डै १५० पाहुना राख्न सकिने जनाइएको छ । घरबास चलाउनेमा दुई जनजाति बाहुल्य बस्ती हुन् ।

“पाहुनालाई सेवा, सुविधा र आतिथ्यता कसरी दिन सकिन्छ भन्नेतिर लागेका छौँ”, अध्यक्ष पुनले भने, “पूर्णरूपमा सेवा दिन केही समय लाग्ला ।” यता बिहुँको शिवधुरीले ११, तङ्ग्रामको झुलेनीले ३२ र धम्जाको बेलढुङ्गा घरबासले १३ घरधुरी समेटेको छ ।

शिवधुरीमा मिश्रित जातजाति भए पनि झुलेनी र बेलढुङ्गा जनजाति बाहुल्य भएका बस्ती हुन् । घरबासमा आउने पाहुनालाई पर्यटकीय ठाउँ घुमाउने, स्थानीय परिकार खुवाउने र संस्कृति देखाउने योजना गाउँलेको छ ।

“ग्रामीण जीवनशैली र रहनसहनको अनुभव दिलाउँछौँ”, शिवधुरी घरबासका उपाध्यक्ष धु्रवबहादुर कँडेलले भने। मकै, कोदो, जौ, फापर, भाँगो, तोरी आलु, सिन्की जस्ता स्थानीय उत्पादनबाट बन्ने परिकार घरबासमा उपलब्ध हुनेछन् । घरबास रहेका सबै बस्ती उच्च भेगमा भएकाले त्यहाँ पुग्ने पर्यटक हिमशृङ्खलाको अवलोकनमा रमाउन पाउनेछन् ।

आसपपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा समेत घरबासले टेवा पुर्याउने ठानिएको छ । वडा नं ७ रेशमा पुग्ने पर्यटक पदयात्रामार्फत गाजा दह, भकुण्डे, भैरवस्थान पुग्न सक्छन् । यस्तै शिवधुरी आउने पर्यटक त्रिपुरेश्वर महादेव, शिवधुरी धाम, घोडाबाँधे लगायतका पर्यटकीय गन्तव्यमा घुमफिर गर्न सक्नेछन् ।

फापरखेत, बेलढुङ्गा घरबासमा पुग्ने पर्यटक पनि त्यहाँका आकर्षक पर्यटकीय गन्तव्यमा लोभिनेछन् । पर्यटनमैत्री पूर्वाधार र घरबाससम्बन्धी तालीमका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन गाउँपालिका पनि तयार छ ।

“घरबासको प्रवद्र्धनमा हामी पनि सघाउँछौँ”, गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले भने, “पर्यटन प्रवद्र्धनमा सबैको हातेमालो चाहिन्छ ।” उनले काठेखोला कृषि र वनमा आधारित पर्यटन विकासका लागि उपयुक्त स्थल भएको बताए। घरबास सञ्चालकले पदमार्ग, बगैँचा, दृश्यावलोकन स्तम्भ जस्ता पर्यटकीय संरचना बनाउने योजनासमेत बनाएका छन् ।

घरबासका लागि पूँजीगत अनुदान लिन गण्डकी प्रदेश सरकारसँग माग र प्रस्तावनासमेत पठाएका छन् । प्रदेश सरकारले पनि गण्डकीमा ३०० घरबास चलाउने योजना अघि सारेको छ । एउटा घरबासका लागि १० लाखसम्म अनुदान दिने नीति छ । ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनका लागि घरबास प्रभावकारी हुने ठानिएको छ ।

पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिर घरबासका आकर्षण हुन् । बिहुँको शिवधुरी सामुदायिक घरबासको उद्घाटन शनिबार गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गरेको थियो । सोही अवसरमा गाउँ पर्यटन प्रवद्र्धन मञ्चले शिवधुरी सामुदायिक घरबासको अवलोकन भ्रमणसँगै घरबाससम्बन्धी अभिमुखीकरण कार्यक्रमकोसमेत आयोजना गरेको थियो ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here