मेलम्ची खानेपानी आयोजना : छलफल मात्रै काम अघी बढेन

0
177

काठमाडौं,१५ माघ- राष्ट्रिय गौरवको मेलम्ची आयोजनाले अझै मूर्त रूप पाउन सकेको छैन । आयोजनाको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीले काम अलपत्र पारेर छोडेपछि आयोजनाको काम झन् अन्योलग्रस्त भएको छ ।

सीएमसीले काम छाडेपछि फर्कने आसमा सरकारले १४ दिनको म्याद थपेको थियो । सो समय सकिन अब केही दिन मात्रै बाँकी रहँदा आयोजनाको बाँकी कामको टुंगो लागेको छैन । सोही बाँकी कामको टुंगो लगाउन सोमबार विकास समितिमा छलफल भएको छ । सो छलफलले पनि कामको खासै टुंगो लगाउन सकेन । आयोजनाका इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बाँकी काम कसरी बढाउने भन्ने विषयमा छलफल भएको बताए ।

नयाँ कम्पनीलाई जिम्मा दिँदा बढी खर्च लाग्ने भएकाले सकेसम्म प्याकेजमै काम गर्ने तयारीमा सरकार रहेको इन्जिनियर पन्तको भनाइ छ । यसअघि नेपाली सेनालाई कामको जिम्मा दिने भन्ने विषयमा पनि चर्चा चलेको थियो । तर, अहिलेसम्म बाँकी कामको जिम्मा कसलाई दिने भन्ने कुराको टुंगो लागेको छैन ।

आयोजनामा हालसम्म करिब २७ अर्ब ७६ करोड रुपैयाँबराबरको लगानी भइसकेको छ । मेलम्ची आयोजनाको काम लम्बिँदै जाँदा आयोजनाको लागतसमेत बढ्न जाने देखिएको छ । सोही विषयमा पनि सोमबार छलफल भएको छ । सीएमसीले जिम्मा लिएका मेलम्चीबाहेक अन्य दुई सोलु–दूधकोसी जलविद्युत् आयोजना र तनहुँ जलविद्युत् आयोजनाका काम पनि अलपत्र परेका छन् ।

तर, कामै नसकी बीचमै छाड्दा ती दुई आयोजनाको काम पनि प्रभावित भएको थियो । ६८ मेगावाट क्षमताको सोलु–दूधकोसी जलविद्युत् आयोजनामा सीएमसीले इन्जिनियरिङ, निर्माण र खरिदसम्बन्धी कामको जिम्मा पाएको थियो । कुल ८ अर्ब रुपैयाँ बराबरको लगानी रहेको सो आयोजना तीन वर्षभित्र सक्ने सरकारको लक्ष्य थियो ।

त्यसैगरी, १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा मुख्य लगानी एसियाली विकास बैंक(एडीबी) को छ । डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य रहेको सो आयोजनामा एडीबीको २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ लगानी रहेको मन्त्रालयले जनाएको छ । एडीबीले प्राविधिक रूपमा योग्य ठहर गरेपछि सीएमसीसँग सो आयोजना निर्माणका लागि सम्झौता भएको थियो । सीएमसीले काम छाडेपछि सरकारले एडीबीसँग छलफल थालेको हो ।

 rajdhanidaily.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here