भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी

0
323
file photo

इनरुवा,१५ माघ-सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ। कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो। उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ।

कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले दिएका हुन्। उनले व्यक्तिगत रु एक लाख ५० हजारमा लैनो भैँसी खरीद गरेका थिए।

प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालासहित इनरुवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए। सुनसरीमा भैँसी सुन्दरी प्रतियोगिताको अवधारणा पहिलो पटक इनरुवा नगरपालिकाले ल्याएको हो। कोशी गाउँपालिकासँग भगिनी सम्बन्ध गाँसेसँगै इनरुवा नगर प्रमुखले भैँसी कोशी गाउँपालिकामा आयोजित भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा भैँसी सुन्दरीसहित गाई सुन्दरी प्रतियोगितामा उत्कृष्ट ठहरिएका गाईधनीलाई नगदसहित सम्मान गरिएको थियो।

यसैबीच सुनसरीको कोशी गाउँपालिकामा विपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सोमबार सम्पन्न भएको छ। कोशी कटानमा सम्पन्न सो प्रतियोगितामा पुरुषतर्फ भागवत शाह, वृजेश यादव, सञ्जय तिवारी, श्रवणकुमार ठठेर, रामचन्द्र यादव, रमेश चन्द र समिरकुमार साह पहिलो भए।

महिलातर्फ मनिषा सिंह, सङ्गीता धामी, सुशीला चन्द, लक्ष्मी खत्री र शान्ती चौधरी प्रथम भए । विभिन्न उमेर समूहका विजेता तथा उपविजेतालाई प्रदेश नंं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, गाउँपालिका अध्यक्ष ऐयुव अन्सारी र इनरुवाका नगर प्रमुख मेहताले पुरस्कार वितरण गरेका थिए। नेपाल प्रहरी, नेपाली सेना, गण्डकी प्रदेशबाहेकका ६ प्रदेश र आयोजक कोशी गाउँपालिकाको सहभागिता रहेको थियो। सृष्टि समाज इनरुवाले सो प्रतियोगिता आयोजना गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here