सिङ्गो गाउँ नै जग्गाधनी पुर्जाविहीन

0
190

कृष्णनगर,१६ माघ – कपिलवस्तुको शिवराज नगरपालिका–८ स्थित देवीपुर गाउँ जग्गाधनी पूर्जाविहीन छ।

विसं २०५९ मा बस्ती विस्तार भएको सो गाउँमा ११९ परिवारको बसोबास छ। ति सबै परिवार जग्गाधनी पूर्जाबाट वञ्चित छन्।

कारितास नेपाल र सहज नेपाल कपिलवस्तुले पुनर्वासका लागि करीब रु ५५ लाखको लागतमा १२३ घर निर्माण गरिएको हो। सहज नेपालका अध्यक्ष शरद अधिकारीका अनुसार पूरै बस्ती विस्थापित भएको अवस्थामा बस्ती पुनःनिर्माण गरिएको हो। एक दशक बित्दासमेत आफूहरुले जग्गाको पुर्जा नपाएको स्थानीयवासी खेतुलाल रानामगरले गुनासो सुनाए।

पुनर्वासको एक दशक बित्दासमेत उनीहरु सुकुम्बासी नै छन्। बस्ती बस्दा ७५० जनसङ्ख्या रहेकामा हाल बढेर एक हजार ३०० पुगेको रानामगरले बताए। “चुनावका बेला पुर्जा दिन्छौँ भन्थे, अहिले त कोही पनि आउँदैनन्”, उनले भने। बस्ती बसाल्दा १२३ परिवारको बसोबास भए पनि हाल झण्डै ३० परिवार विस्थापित भएका छन्। कतिपयले पुनर्वासमा पाएको घर अर्कैलाई बेचेर अन्यत्र गएको स्थानीयवासी सीतादेवी जलारीले बताए।

प्रतिपरिवार घरसहित पाँच कट्ठा जमीन तत्कालीन अवस्थामा उपलब्ध गराएको सहज नेपालका पूर्वअध्यक्ष अधिकारीले बताए। स्थानीय तहमा घरधुरी कर तिरिरहेको भए पनि घर जग्गाको पुर्जा पाउन नसकेको लोकबहादुर सुनारले बताए। विसं २०६५ मा पुनःनिर्माण भएको देवीपुर बस्तीका घर जीर्ण बन्दै गएका छन्। बस्ती छाडेर अन्यत्र बसाइँ सर्नेको सङ्ख्या बढ्दै गएको छ।

पुर्जाको समस्या स्थानीय तहले समाधान गर्न नसक्ने नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी बताउछन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here