विराटनगर,२० माघ-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलकको विकास र समृद्धिका लागि आन्दोलन गर्ने सोच त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उनले मुलुकको आर्थिक विकासको वाधक आन्दोलन भएकाले त्यसलाई त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन्।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले बैँकले लिने ब्याजलाई सरकारले अविलम्व घटाउनुपर्ने माग गर्दै विगत केहीदिनदेखि विरोधका विभिन्न कार्यक्रम गरिरहेको सन्दर्भमा मन्त्री यादवले सो कुरा भनेका हुन।
मन्त्री यादवले आर्थिक समृद्धिको अभियानमा मुुलुुक अगाडी बढेकाले अब आन्दोलनको औचित्य नभएको वताउदै सहमति र सहकार्यबाट समस्याका समाधान निकाल्नुपर्नेमा जोड दिए।
निजी क्षेत्रको समस्याप्रति सरकार गम्भीर भएको उल्लेख गर्दै उनले औद्योगिक उत्पादन वृद्धि गरेर वैदेशिक व्यापार घाटा कम गर्नेतर्फ लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।
उनले भने, “समृद्ध नेपाल सुखी नेपाली सबै नेपालीको साझा लक्ष्य भएकाले यसलाई सफल वनाउन सबैको सहयोग र सहकार्य आवश्यक छ ।”
प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुुसैयतले उद्यमीको समस्या समाधानका लागि प्रदेश सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।