तरकारी बिक्री हुन छाडेपछि किसानले जोताए तरकारी बारी

0
551

चितवन,माघ २२-बिक्री हुन छाडेपछि चितवनमा किसानले खेतमै तरकारी नष्ट गरेका छन्।

पूर्वी चितवनको खैरहनी–१ बहेराका किसानले तरकारीको मूल्य नपाएको र बिक्री नभएको भन्दै तरकारी नष्ट गरेका हुन्। उनीहरुले खेतमा लगाएको तरकारी ट्याक्टरले जोताएका छन्। तरकारीमा पनि बिशेष गरी बन्दाको मूल्य नपाएको र बिक्री समेत नभएको किसानले गुनासो गरेका छन्। सोमबार मात्रै खैरहनी १ बहेरामा करिब ११ कठ्ठामा लगाइएको बन्दा किसानले बारीमा नै नष्ट गरेका छन्।

एक महिनासम्म तरकारीले भाउ पाउला, बिक्री होला भनेर कुरेर बस्दा बस्दै तरकारी बिक्री नभएको, बारीमै कुहिने अवस्था आउन लागेकोले जोत्न परेको स्थानीय किसान नवराज भूषालले बताए। अघिल्लो वर्ष त्यही जग्गामा लगाएको तरकारीबाट करिब ९० हजार आम्दानी भएको तर यस वर्ष एक रुपैयाँ पनि आम्दानी नभएको भुषालले बताए । तीन कठ्ठामा बन्दा उत्पादन गर्न करिब २१ हजार लागत लागेको उनको भनाइ छ।

अर्की किसा नरबदा सापकोटाको दुखेसो पनि उस्तै छ। ३२ कठ्ठामा तरकारी खेती गर्दै आएकी सापकोटाले केही दिनअघि मात्रै ब्रो काउली र बन्दा लगाएको करिब १५ कठ्ठा बारी तरकारी सहित जोताइन्। केही तरकारी त काटेर गाई भैंसीलाई समेत खुवाएको तर पशु चौपायलाई समेत चिसो होला भनेर खुवाउन छोडेको उनले बताइन्।

अब बाँकी रहेको १७ कठ्ठाको तरकारी पनि केही दिनमै जोताउन पर्ने स्थिति रहेको उनले बताइन्। प्रतिकठ्ठा २ हजार ५ सयको दरले भाडा तिर्ने गरी लिएको २२ कठ्ठा जग्गामा लगाइएको तरकारी बिक्री नभएर बारीमै जोत्नु पर्ने अवस्था आएको भन्दै सापकोटाले दुखेसो गरिन्। खैरहनी १ बहेराकै इन्दिरा भुषालले पनि सोमबार ६ कठ्ठामा लगाएको बन्दा जोताइन्।

अघिल्लो बर्ष डेढ लाख आम्दानी गरेकी उनले यसबर्ष एक रुपैयाँको पनि बन्दा बिक्री नगरी जोताउन परेको बताइन्। उनको जस्तै समस्या अहिले बन्दा लगाउने धेरै किसानकोे छ। सोही स्थानकी देपकला खनालले ७ कठ्ठामा लगाएको बन्दा नष्ट गर्ने तयारीमा रहेकी छिन्। अघिल्लो वर्ष ४ कठ्ठामा लगाएको तरकारीबाट १ लाख आम्दानी भएको थियो।

यो वर्ष ६ कठ्ठामा लगाउँदा एक रुपैयाँ पनि आम्दानी नगरी तरकारी जोत्नुपर्ने अवस्था आएको उनले बताइन्। अर्का किसान सूर्यप्रसाद भुषालले पनि दुई कठ्ठामा लगाएको बन्दा जोताए। ‘भाउ पाउला कि भनेर कुर्दा कुर्दा तरकारी बिक्री भएन, अर्को वाली लगाउने समय समेत आएकोले बाध्य भएर तरकारीसहित बारी जोताएँ,’ उनले भने।

किसानले मूल्य नपाउँदा खेतबारी मै तरकारी नष्ट गर्नुपर्ने अवस्था आउँदा समेत बजारमा भने उपभोक्ताले प्रतिकिलो १५ रुपैयाँमा बन्दा खरिद गरिरहेका छन्। अहिले चितवनमा बन्दा, काउलीको उत्पादन बढी भएकाले मूल्य नपाएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ नारायणगढका अध्यक्ष थिरप्रसाद धितालले बताए। अहिले थोक बजारमा बन्दा चार/पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको उनले बताए।

सबैले एउटै तरकारी लगाउनु भन्दा किसानले फरक फरक तरकारी लगाए यस्तो समस्या नआउने र सबै तरकारीले मूल्य पाउने उनले दावी गरे। चितवनमा करिब ४६ हजार हेक्टरमा खेतीयोग्य जग्गा रहेको जसमध्ये करिब ६ हजार हेक्टरमा तरकारी खेती हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here