शहीद स्मृति विद्यालयमा पूर्वाधार अभाव

0
202

लमही,२ फाल्गुन- द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको दाङको तुलसीपुर उपमहानगरपालिका– १७ हेमन्तपुरस्थित शहीद स्मृति आवासीय माविमा पूर्वाधार अभाव छ। पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ।

विद्यालयका प्रधानाध्यापक नारायण पौडेलका अनुसार पूर्वाधार जीर्ण हुँदा विद्यार्थीलाई बस्न समस्या भएको छ। अहिले विद्यालयमा ४७० विद्यार्थी अध्ययनरत छन्।

चार सय ११ विद्यार्थी विद्यालयमै बस्ने गरेका छन्। “आवासीय विद्यार्थीका लागि भवनको अभाव छ”, प्रअ पौडेलले भन्नुभयो, “एउटै कोठामा २६ विद्यार्थीलाई राख्नुुपर्ने अवस्था छ।”

विद्यार्थीको आवासका लागि दुई भवन छन् । छात्र र छात्राका लागि १२–१२ कोठाको व्यवस्था गरिएको छ । कोठा अभावमा शिक्षकलाई बस्न समस्या भएको छ।

सरकारले शहीद, बेपत्ता, घाइते र अपाङ्गता भएकाका छोराछोरीलाई पठनपाठन गराउन सञ्चालन गरेको उक्त विद्यालय अहिले स्थानीय सरकार मातहत आएको छ। “ एउटै कक्षामा ५०÷६० विद्यार्थी राख्नुपर्ने अवस्था छ”, प्रअ पौडेलले भन्नुभयो, “विद्यार्थीको चाप निकै छ, चापअनुसार तिक पूर्वाधार पनि थप गर्नुपर्छ।”

विद्यालयमा द्वन्द्वपीडित छात्रछात्रा कक्षा १२ सम्म पढ्छन् । आर्थिक अभावका कारण उनीहरुले स्नातक तह पढ्न पाएका छैनन्। “स्नातक तह निःशुल्क पढ्न कक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ”, प्रअ पौडेलले भने।

विद्यालयमा बाल विकास कक्षा नहुँदासमेत समस्या भएको छ। “द्वन्द्वपीडित बालबालिका पढ्न आउँछन्, उनीहरुलाई एकैपटक कक्षा १ मा राख्न समस्या हुने गरेका छ”, उनले भने।

विद्यालयमा सबै शिक्षक करारमा कार्यरत छन् । विसं २०६४ मा स्थापना भएको सो विद्यालयमा तत्कालीन प्राविको पाँच, निमाविको चार, माविको पाँच र एक लेखापालको दरबन्दी छ। “दरबन्दी थप नहुँदा समस्या भएको छ”, प्रअ पौडेलले भने।

सबै करार शिक्षकलाई स्थायी गर्नुपर्ने उनको माग छ। विद्यालयमा थप दुई ‘पार्ट टाइम’ शिक्षक र पाँच आवास व्यवस्थापन कर्मचारी छन्।

विद्यालय स्थानीय तह मातहत आएकाले व्यवस्थित गर्ने जिम्मेवारी तुलसीपुर उपमहानगरपालिकाले लिने उपमहानगर शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले बताए। विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरी सहजै रोजगार पाउने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here