सिंहदरबार घरदैलोमा पुर्याउने अभियानमै छौँ : उपराष्ट्रपति पुन

0
250
file photo

भीमदत्तनगर,२ फाल्गुन-उपराष्ट्रपति नन्दबहादुर पुनले जनताले चाहेको सिंहदरबार घरदैलोमा पु¥याउने अभियान जारी रहेको बताएका छन्।

कञ्चनपुरको भीमदत्तनगरपालिकाले आज दोधारा–चादँनी झोलुङ्गे पुल छेउमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा उपराष्ट्रपति पुनले नयाँ संरचनाअनुसार काम गर्न केही चुनौती र केही नयाँ अनुभव लिनुपर्ने भएकाले अधिकार गाउँमा आउन केही समय लागेको आशय व्यक्त गरे। सबै स्थानीय तहदेखि प्रदेशको राज्यसितको पहुँच पुगिसकेको उनले बताए। सुदूरपश्चिम प्रदेश पर्यटन, जलस्रोत र जडीबुटीको अथाह सम्भावना बोकेको प्रदेश रहेको उपराष्ट्रपति पुनको भनाइ थियो ।

“हिमशृङ्खलादेखि तराइको फाँट र चीनदेखि भारतसित जोडिएको यो प्रदेशसित आयको राम्रो स्रोत छ,” उनले भने, “शुक्लाफाँटादेखि झोलुङ्गे पुललगायत ऐतिहासिकस्थलले भरिपूर्ण छ ।” उपराष्ट्रपति पुनले देश बनाउन तथा राष्ट्र, राष्ट्रियता र स्वाधीनता रक्षाका लागि सबै प्रतिबद्ध रहेको बताए।

आज शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै झोलुङ्गे पुलको अवलोकन गर्न पुग्नुभएका पुनले दोधारा–चादँनी झोलुङ्गे पुलमा पैदल यात्रा गरे । एक हजार ४५६ मिटर लम्बाइ भएको सो झोलुङ्गे पुलमा पैदल हिँडेर उहाँ महाकाली नदी पारि दोधारा–चादँनी पुगेका थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुुअघि उपराष्ट्रपति पुनलाई शुक्लाफाँटा निकुञ्ज कार्यालयले निकुञ्जमा रहेका वन्यजन्तु लगायतको विषयमा जानकारी गराएको थियो ।

निकुञ्जभित्रको ५५ वर्गकिलोमिटर क्षेत्रफल भएको घाँसे मैदान पुगेर बाह्रसिङ्गाको अवलोकनपछि उपराष्ट्रपति पुन निकुञ्जभित्रै रहेको हात्तीसार पुगेका थिए।

उपराष्ट्रपतिसँगै उनकी धर्मपत्नी हस्तमाली पुन, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल, प्रदेश सभामुख अर्जुनबहादुर थापालगायत साथमा थिए । बिहीबार उनले यहाँको बेदकोट नगरपालिकामा शुरु हुन लागेको ‘बेदकोट धार्मिक तथा पर्यटन मेला’को उद्घाटन गर्ने कार्यक्रम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here