मानव स्वास्थ्यमा असर पार्ने उद्योग बन्द गर्न माग

0
262

काठमाडौँ,९ फाल्गुन-गैरकानूनीरुपमा मानवबस्तीमा सञ्चालित आसफाल्ट (अलकत्रा पगाल्ने) उद्योग बन्द गराउन ललितपुर महानगरपालिका वडा नं ४ बाग्डोलस्थित मलपोखरीका स्थानीय बासिन्दले माग गरेका छन् ।

उद्योगले निकाल्ने धुवाँ र ध्वनि प्रदूषणका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका हुन् । स्थानीयवासीले महानगरपालिकाको कार्यालयमा उजुरी दर्ता गराउँदै त्यस्ता उद्योग हटाउन माग गरेका छन् ।

बाग्डोल विकास सेवा समाजका अध्यक्ष राजेश कार्कीले सो स्थानमा सञ्चालित आसफाल्ट उद्योगका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परेको बताए । अस्पताल खोल्ने भन्दै झुक्याएर आसफाल्ट प्लान्ट खोलिएको उनले सुनाए । उद्योग विभागबाट साविक कीर्तिपुर गाविसमा दर्ता भएको उद्योगले ललितपुरमा बाग्डोलमा प्लान्ट राखेको छ ।

विसं २०५३ पुस ९ गते काठमाडौँमा दर्ता भएको नेपाल आदर्श कम्पनीले कीर्तिपुरमा वर्कसप तथा ग्यारेज राख्नका लागि अनुमति लिएको थियो । उद्योग दर्ता प्रमाणपत्रमा तोकिएको स्थानभन्दा बाहिर बाग्डोलमा आसफाल्ट उद्योग सञ्चालन गरी कानून उल्लङ्घन गरेको स्थानीय बासिन्दाको भनाइ छ । कम्पनीलाई विसं २०७१ माघमा मन्त्रिपरिषद्को निर्णयअनुसार रु पाँच लाख जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here