धाराको पानि बेचेरै मैनाको ४० हजार कमाउने लबहादुर पुन |

0
218

हेर्दा लाग्छ उनी प्लाष्टिकका भाँडाकुँडा बेच्छन्। किनकी उनले प्लाष्टिकका ग्यालिन बोकेका छन्। साइकलभरी ग्यालिन छन्। तर, उनको बाटो पानीपोखरीको ढुंगेधारामा पुगेर टुंगिन्छ। उनी भाँडा होइन् पानी बेच्दा रहेछन् त्यो पनि पर्याप्त आम्दानी हुने गरी। म्याग्दीका ४० वर्षीय दलबहादुर पुनको दैनिकी पानी बेच्ने हो। उनले ढुंगेधाराको स्वच्छ पानी बेच्छन्। सामाखुसीमा बस्ने उनले सामाखुसी – गंगबु क्षेत्रमा पानी बेच्छन्।

मासिक ४० हजार कमाउँछन्। जिन्दगीमा थुप्रै हण्डर खाएका उनलाई ढुंगेधाराको पानी जिउने आधार बनेको छ। दैनिक १४ सय लिटर पानी बिक्री गरेर उनले परिवार र आफ्नो जीवन चलाइरहेका छन्। दलबहादुर भन्छन्, ‘पानी कारखानाबाट लगेर पानी बिक्री गर्दिनँ, ढुङ्गेधाराबाट आएको शुद्ध पानी बिक्री गरेको छु, ग्राहकलाई खुसी पनि बनाएको छु।’ उनले एक ग्यालिन पानीको ४० रूपैयाँ लिन्छन्। विहान ८ बजे पुगिसक्छन् ढुङ्गेधारामा। दिनभरमा ३५ ग्यालेन पानी बिक्री गर्ने गरेको उनले सुनाए। ‘साइकलमा नै म प्रत्येक ग्राहकको घरमा पानी लैजान्छु,’ उनले भने, ‘ग्राहकहरू खुसी छन्।’ १० कक्षा पास गरेपछि उनले उच्च शिक्षा पढ्न पाएनन्।

अरू दाजुभाईले खेतीकिसानी नगरेपछि उनले खेतीपाती गर्न थाले। ‘पारिवारिक अवस्था ठीकठीकै भए पनि बाल्यकाल दु:खमा बित्यो,’ उनले भने, ‘बाध्यताले पढाई छाडेर घर सम्हाल्नु पर्‍यो।’ दलबहादुरले पढाइ छोडेको २ वर्षमा बिहे गरे । विवाह गरेको केही वर्ष धेरै दुःख भयो । श्रीमती र घरपरिवारको सबै जिम्मेवारी उनीमाथि थियो। खर्च पानीको समस्या पर्न थालेपछि उनी वैदेशिक रोजगारीमा पनि हानिए। मलेसियामा ३ वर्ष र कतारमा २ बसेका छन्। ‘जिम्मेवारीले नै सात समुन्द्र पारी पुर्‍यायो,’ उनले भने, ‘दुःख के हो, माया र परिवार के हो विदेशमा बसेपछि थाहा पाएँ ।’ उनलाई जीवन भनेकै यात्रा हो भन्ने लाग्दो रहेछ। कहिले मलेसिया त कहिले कतार गरे। अहिले काठमाडौंमा बसेर दैनिकी चलाउँदैछन्। भाग्य नै भनौँ मलेसिया, कतारमा कमाउने बराबरको पैसा उनले काठमाडौंमा बसेर कमाएका छन्।

पछिल्लो पटक उनी बिरामी परेपछि वैदेशिक रोजगारीको यात्रा टुंग्याएर नेपाल फर्किएका हुन्। ‘प्रेसरले समातेपछी विदेश छाडेर यता आएको हुँ,’ उनले भने, ‘के सोचेर गएको थिएँ त्यो भएन, विदेश मेरो लागि दुःखान्त भयो।’ दलबहादुर अहिले काठमाडौंमा छोराछोरी र श्रीमतीका साथमा बसका छन्। आफूले ११ कक्षा उक्लन पाएनन् तर अहले उनका छोराले ११ कक्षामा पढिरहेका छन्। छोरी ५ कक्षामा छिन्। ‘छोराछोरीको शिक्षाको लागि भनेरै काठमाडौंमा बसेको छु,’ उनले भने, ‘गाउँमा काठमाडौंमा जस्तो स्कुल छैन। बाबुआमाको छत्रछायाँमा हुर्केका सन्तान राम्रो हुन्छन् कि भन्ने पनि लाग्छ।’ श्रीमतीले घरको काममा सहयोग गर्छिन्। छोराछोरीलाई हेरविचार गर्छिन्। दलबहादुरले बाहिरको काम राम्रोसँग गर्न पाएका छन्। काठमाडौं प्रवेश गरेको १२ वर्ष भयो। हालसम्म थुप्रै दुःख र सुख देखे दलबहादुरले। काठमाडौंको दैनिकीसँग प्रेम बसेको छ उनको। भूकम्पले पूरै काठमाडौं हल्लाउँदा पनि उनी यताउता लागेनन्। ‘भूकम्पले काठमाडौ हल्लाउँदा सबै गाउँ गए, म भने गइन। यो काठमाडौंमा गहिरोसँग प्रेम बसेको छ,’ उनले भने। काठमाडौंको ठूलो समस्या पानी नपाउनु हो । दलबहादुरले भने ‘यहाँका मानिसको घरमा-घरमा म जानु भनेको उनीहरूको मुहारमा खुसी ल्याउनु जस्तै हो । पानी नपाएर ग्राहकको घरमा खाना पाकेको हुँदैन।

ढिलो पुग्दा फोन आएरै हैरान हुन्छ।’ दलबहादुर मासिक १० हजार बचत गर्छन्,३० हजार छोराछोरीको पढाइ खर्च र घर व्यवहारमा लगाउँछन्। उनले सोचेका पनि थिएनन् पानीले मानिसको जीवन यसरी चल्छ भनेर। उनले भने, ‘पानी बिना हामी बाँच्न सकिँदैन भनेर पढेको थिएँ, तर आज मेरो जीवन पानी बिना घरबार नचल्ने भएको छ ।’ पैसा कमाउन धेरै ठूलो काम गर्नै पर्दैन। मलेसिया र कतारमा बस्दा पनि काम गरेजस्तो लागेको थियो । हिँजोआज उनलाई लाग्दोरहेछ , ‘पानी बेच्ने काम हेर्दा ठूलो लाग्छ, यो सहरमा गर्ने अरू कामभन्दा यो काम एकदमै सानो छ।’ काठमाडौं मासु बेच्छु भनेर उनी यहाँ आएका थिए। तर उनी अहिलेपानी व्यापारी बनेका छन्। उनले भने, ‘ मासु भन्दा पनि पानी बेचेकोमा खुसी छु।’

उनलाई एकजना आफन्तले पानी बेच्ने सल्लाह दिएकी थिइन्। भन्छन्, ‘जहाँ जे माग छ त्यही व्यापार गर्नुपर्ने रहेछ ।’ ढुङ्गेधारा सुकेमा पानी फ्याक्ट्री खोल्ने योजनामा छन् दलबहादुर। ‘मेरो परिचय नै पानी व्यापारी भएको छ,’ उनले भने, ‘पानी परिचय मात्र बनेको छैन, काठमाडौंबासीको जीवन पनि बनेको छु ।’ अतिन आचार्य आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here