होली’को रंगमा रङगिएर यसरी मनाए कलाकार’ले होली: भिडियो पनि छ है |

0
243

एपीवान एचडी टेलिभिजनले फागु पूर्णिमाका अवसरमा बुधबार ललितपुरको पाटन दरबार स्क्वायरमा होली उत्सव आयोजना गरेको छ। कार्यक्रममा चर्चित कलाकार तथा गायकगायिकाले सांगीतिक प्रस्तुति दिएका थिए।

होली उत्सवमा गायक धीरज राई, नेपाल आइडल सिजन टुका उत्कृष्ट कलाकार अस्मिता अधिकारी, पवन गिरी, विक्रम बराल, क्रिसल कँडेल, सुविन सिंह लगायतका कलाकारले दमदार सांगीतिक प्रस्तुति दिए। उनीहरूले दर्शक नचाए।

पानीको फोहोरा र रङ दलेर दर्शकसँगै कलाकारहरू होली उत्सवमा झुमिरहेका थिए। चैत २२ गते रिलिज हुन लागेको नेपाली चलचित्रका नायक प्रदीप खड्का र जसिता गुरुङ पनि कार्यक्रममा सहभागी भएका थिए। यसै अवसरमा डान्स रियालिटी सो बुगीउगीकी विजेता कविता नेपाली लगायतको टिमले नृत्यसमेत प्रस्तुत गरेको थियो। स्टेजमा कलाकारले सांगीतिक प्रस्तुति दिँदै गर्दा दर्शकदीर्घामा रहेका सहभागीले हुटिङ र तालीले उनीहरूलाई हौसला प्रदान गरेका थिए। सबैजना होलीका गीतमा नाचिरहेका थिए।

हरेक वर्ष गोदावरीस्थित आफ्नो घरमा होलीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै आएकी नायिका करिश्मा मानन्धरले यसपटक त्यसलाई निरन्तरता दिइनन्। कार्यक्रममा नेता, समाजसेवी, कलाकार तथा पत्रकार पुगेर होली खेल्थे। व्यस्तताका कारण यस वर्ष होली कार्यक्रम नगरेको उनले बताइन्।

अभिनेता सलिनमान बानियाँ र सलोन बस्नेतले आफ्नो प्रदर्शनरत फिल्म ‘यात्रा’को प्रचार गर्दै टीभी च्यानल तथा मिडियाले आयोजना गरेका कार्यक्रममा सहभागी भएर होली मनाए। एपीवान, टीभी फिल्मी, जनता टीभी, रेडियो जनता, इमेज टीभी, रेडियो अडियो, रेडियो कान्तिपुर लगायतले आयोजना गरेका होलीका कार्यक्रममा आफ्नो फिल्मको प्रचार गर्दै कलाकारले मनोरञ्जन गराए।

होली विशेष कार्यक्रम आफ्नो फिल्म प्रचार गर्ने थलोका रूपमा कलाकार तथा निर्माताले प्रयोग गरे। फिल्म ‘यात्रा’ टिमका कलाकार भक्तपुर पुगेर इमेज च्यानल सहभागी भएको कार्यक्रममा होली मनाए। उक्त कार्यक्रममा सलिनमान बानियाँ, सलोन बस्नेत, जान्वी बस्नेतलगायत कलाकार उपस्थित भए।

जनता टीभी र रेडियो जनताले आफ्नै प्रांगणमा आयोजना गरेको होली कार्यक्रममा थुप्रै कलाकार सहभागी भए। सबैतिर पुग्न कलाकारलाई भ्याइनभ्याइ भएको देखिन्थ्यो। प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कागजपत्र’ र ‘शुभ लभ’ टिमले पनि यिनै कार्यक्रममा होली मनाए।

कागजपत्रका नाजिर हुसेन, शिल्पा मास्के लगायतका कलाकार उपस्थित भए भने शुभ लभबाट नायक हरिहर अधिकारीलगायत उपस्थित भए। यस्तै फिल्म ‘दाल भात तरकारी’को टोलीले बानेश्वरमा होली मनायो। रेडियो अडियोको होली विशेष कार्यक्रममा हास्यकलाकारको बाक्लो उपस्थिति भयो।

नायक प्रदीप खड्का र जसिता गुरुङ पोखरा पुगेर होली मनाए। नायक पल शाह र नायिका वर्षा शिवाकोटी लगायतले फिल्म वीरविक्रमको प्रचारमा होली मनाए। यस वर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ‘मारुनी’को सेटमै होली मनाइन्।

फिल्म ‘सम्हालिन्छ कहिले मन’को सुटिङका लागि लन्डनमा रहेका कलाकारहरू पूजा शर्मा र आकाश श्रेष्ठको टिमले भने विदेशमै होली मनाएको छ। प्रदर्शनरत फिल्म ‘क्याप्टेन’का नायक अनमोल केसीले बाबु भुवनसँग मिलेर पारिवारिक होली मनाए।

एकआपसमा माया, सद्भाव, हर्षबढाइँ र मेलमिलापको सन्देशका रूपमा होली मनाउने परम्परा छ। होलीका अवसरमा कलाकर्मी, रंगकर्मी, लेखक, साहित्यकार, व्यापारी सबैले आआफ्नो तरिकाले होली मनाएका छन्। विभिन्न संघसंस्था र समूह मिलेर संयुक्त रूपमा होली खेल्ने कार्यक्रमसमेत आयोजना गरिएका थिए।

शिल्पी थिएटर बत्तीसपुतलीमा होली मनाइएको छ। रङ खेल्न र एकआपसमा सद्भाव बाँड्न कलाकार तथा विभिन्न पेसाकर्मी थिएटर परिसरमा भेला भएका थिए। काठमाडांैको ठमेल पनि होलीको अवसरमा चिटिक्क सिँगारिएको थियो। विदेशी र स्वदेशी सबैलाई होलीको माहोलले छोएको थियो। विदेशी पर्यटक पनि हातमा अनेक रङ बोकेर एकआपसमा रंगिरहेका देखिन्थे। नेपाली युवा र विदेशी पानी र रङमा भिजेका देखिन्थे। ठमेलका चोकैपिच्छे रङ बेच्ने र किन्ने व्यक्तिको घुइँचो लागेको थियो। विभिन्न रेस्टुरेन्ट तथा बारले म्युजिक कन्सर्ट तथा लाइभ म्युजिक कार्यक्रम पनि आयोजना गरेका थिए। चर्को म्युजिक र विदेशी तथा स्वदेशी गीतले ठमेल संगीतमय बनेको थियो।

यसैगरी वसन्तपुरमा पनि निकै भव्य तवरले होली खेलिएको छ। विशेषतः युवा र विदेशीलाई लक्ष्य गरी पश्चिमा गीतसंगीतको कन्सर्टसमेत गरिएको थियो। हातमा रंगपानी भरिएको लोला बोकेर, सेतो पहिरनमा सजिएका युवाको जमात प्रशस्तै देखिन्थ्यो। उनीहरू रङ खेल्दै, संगीतको तालमा झुमिरहेका थिए।

बानेश्वर चोक, कीर्तिपुर, पाटन दरबार स्क्वायर, कलंकी, भक्तपुर दरबार, ललितपुरका अनगिन्ती ठाउँमा सामूहिक रूपमा होली पर्व मनाइएको छ। यसैगरी लिस्नर्स क्लब नेपाल र फूलबारी संरक्षक नेपालको आयोजनामा धुम्रवराह पीपलबोटमा नाचगान र हर्षबढाइँका साथ होली पर्व मनाइएको छ।

सत्य र विजयको उत्सवस्वरूप मनाइने होली पर्व बुधबार धूमधामसाथ मनाइएको छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली हिमाली तथा पहाडी जिल्लामा बुधबार हर्षोल्लासका साथ मनाइएको हो। तराईका जिल्लामा भने बिहीबार यो पर्व मनाइँदै छ। स्रोत अन्नपुर्णपोस्ट |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here