सार्वजनिक यातायात’मा महिला हिंसात्मक घटना |

0
276

एकजना साथीलाई जागिरका क्रममा भक्तपुरबाट नयाँ बसपार्क पुग्न सार्वजनिक यातायातमा दैनिक ओहोरदोहोर गर्नुपर्छ। समयअगावै बस स्टपमा पुगिसक्दा पनि बसमा छिर्ने ठाउँसम्म हुँदैन भन्छिन् उनी। भक्तपुरको बसमा सिटमा बसेर यात्रा गर्न त अहोभाग्य हुनुपर्छ। जहिले पनि उभिएरै, कोचिएरै कष्टपूर्ण यात्रा गर्नुपर्छ। खलासी यात्रुलाई भित्र जाऊ भनिरहन्छ, तर भित्र खुट्टा राख्ने ठाउँसम्म हुँदैन। कोचिएर यात्र गर्दा पुरुष यात्रुले महिला यात्रुलाई छुने, धकेल्ने, कुहिनाले घोच्ने, टाँसिने जस्ता घटना हुन्छन्। हिंसाका घटना पनि हुन्छन्।

चालक ‘भित्र नजानेलाई ओरालिदेऊ’ भन्दै खलासीलाई ठाडो निर्देशन दिन्छ। ‘किन यति धेरै मान्छे थपिराखेको उभिनै गाह्रो भयो’ भन्दा ‘सजिलो खोज्ने मान्छेले ट्याक्सीमा गए भइहाल्यो भन्ने जवाफ दिन्छन् सवारीका चालक र खलासी। उनीहरू यात्रुसँग हेपेर बोल्ने, अपशब्द प्रयोग गर्ने, ‘तेरा बाउ’ आदि असभ्य भाषा बोल्छन्। खलासीले बीसतीस हजार पर्ने मोबाइल बोकेर गाडीमा यात्रा गर्ने युवायुवतीलाई कार्ड देखाएपछि सजिलै छुट दिन्छ तर मुस्किलले गाडी चढ्ने ज्येष्ठ नागरिकबाट कार्ड बोक्न बिर्संदा पूरै भाडा लिइन्छ। भाडा छैन भन्दा ‘आधा बाटोमै झारिदिन्छु’ भन्छ। समग्रमा हेर्दा अपांग, महिला तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा यात्रा गर्नु सकसपूर्ण हुन्छ।

त्यसैगरी काठमाडौं बसपार्कको काउन्टरमा मेलम्ची जानका लागि टिकट काट्न जाँदा गाडीका धेरैजसो सिट भरिइसकेको तथा टिकट नभएको जवाफ पाइन्छ। टिकट पाए पनि अगाडि सिट पाइँदैन, पछाडिको सिटको मात्र टिकट दिने गरिन्छ। एकपटक बालबालिकासहित मेलम्ची जानुपर्दा यस्तै समस्या भोग्नुपर्‍यो। हामीले अगाडिको सिटको टिकट माग्यौं। अगाडिका सिटका सबै टिकट बुकिङ भइसक्यो, पछाडि मात्र खाली छ भन्ने जवाफ पाइयो। मेलम्ची जानैपर्ने भएकाले अन्तिमको टिकट भए पनि लिनैपर्‍यो। जब आधा बाटो पुगियो, अगाडिका केही सिट खाली थिए। अहिलेको समयमा जात र धर्मको कुरा गर्नु हुँदैन। तर काठमाडौंबाट बसपार्कमा मेलम्ची जाने गाडीमा जात र भाषा हेरेर टिकट दिइएको पाइयो।

यात्रुहरूसँग प्रत्यक्ष रूपमा जोडिने सार्वजनिक यातायातका चालक र खलासीलाई बेलाबेलामा उचित परामर्श दिएर सभ्य बनाउने कार्यमा कसले ध्यान दिने ?

यसैगरी चाबहिल मित्रपार्कको ओरालोमा पशुपति जाने व्यस्त सडकमा कसैले हात दियो भने माइक्रो चालकले झ्याप्प माइक्रो रोकिहाल्छ, जसका कारण साँघुरा सडकमा दुर्घटना हुन सक्छ। कतिचोटि त साइड नपाएर उक्त ओरालोमा मोटरसाइकल पल्टेको प्रत्यक्ष देखेकी छु। सडकका बीच या रोक्न नमिल्ने ठाउँमा झ्याप्प गाडी रोकेर यात्रु हाल्ने तरिका गलत हो। मिटरमा जान नमान्ने वा मिटर बिगारेर ट्याक्सी चलाउनेहरूको मनपरी पनि कम छैन। अझै पहाडका कच्ची बाटामा मनपरी यात्रु कोचेर गुड्ने सवारी साधनले अकल्पनीय दुर्घटना व्यहोर्नु परिरहेको छ। नजिकै रहेका ट्राफिक प्रहरी उभिएको भए पनि केही नदेखे झैं गर्छन्।

ट्राफिक प्रहरीले पनि ठेलमठेल यात्रु भरेर हिँडिरहेका गाडीहरूलाई देखे पनि नदेखे झैं गरेको देखिन्छ। स्कुटर, मोटरसाइकलजस्ता सवारी चालकलाई सामान्य गल्ती गर्दा पनि तुरुन्तै जरिवानाको रसिद काटिहाल्छन्। तर भाडाका गाडीले नियमविपरीत जहाँ रोके पनि, जति यात्रु बोके पनि, भाडादर नराखे पनि खासै जाँच गरेर नियमपालन प्रभावकारी रूपमा गराएको देखिँदैन। भाडाका सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्ने वा गलत ठाउँमा गाडी रोक्ने, लेन नियमपालन नगर्ने सवारीलाई कारबाही गर्नुपर्ने होइन र ? कि त्यस्ता ठूला गाडीको चालकसँग लेनदेन चल्ने गर्छ ? यातायातमा भएको सिन्डिकेट नघट्नुमा कतै त्यही र त्यस्तै लेनदेनले बाधा पुर्‍याएको त होइन ?

सवारी साधनलाई यात्रुको चाप हेरेर नयाँ रुटमा अनुमति दिनुपर्छ। बिसौनीमा मात्र गाडी रोक्ने, ओराल्ने तथा यात्रु चढाउने कार्य कडाइका साथ लागू गर्नुपर्छ। एउटा गाडीमा सिट क्षमताअनुसार मात्र यात्रु राख्नुपर्ने नियमलाई कडाइका साथ लागू गर्न सक्नुपर्छ। धेरै प्रदूषण गर्ने पुराना तथा साना गाडीलाई विस्थापन गर्दै बढी सिट क्षमताका ठूला नयाँ गाडीलाई कम्पनीमार्फत चलाउन दिँदा प्रभावकारी हुन्छ। यस्ता कम्पनीहरू स्थानीय निकाय, सहकारी वा निजी साझेदारीमा चलाउन सके पारदर्शी हुनुका साथै सबैको सहज पहुँचमा हुनेछ। योभन्दा पनि महत्वपूर्ण पक्ष सवारी चालकजस्तो व्यक्ति जिम्मेवार, नैतिकवान्, शिक्षित तथा सभ्य भाषा प्रयोग गर्ने हुनुपर्छ। सभ्य भाषा खलासीहरूले बोल्न सिक्नु झनै जरुरी छ। यात्रुहरूसँग प्रत्यक्ष रूपमा जोडिने सार्वजनिक यातायातका चालक र खलासीलाई बेलाबेलामा उचित परामर्श दिएर सभ्य बनाउने कार्यमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने होइन र ?

स्रोत annapurna post |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here