महात्मा गान्धीका एउटा तथ्यले रसाउछ सबैको आँखा |

0
164

दिल्लीको कोनट प्लेसस्थित मरिना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरू हुन लागेको छ । यतिवेला रमजान चलिरहेको छ । केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ । मरिना होटलको एउटा कोठाबाट एक व्यक्तिले मस्जिदको चहलपहल हेरिरहेका छन् ।

ती व्यक्तिलाई यो कुरा थाहा छैन कि सन् १९४८ को जनवरी १७ मा दिल्लीमा ठिहि¥याउने चिसो भएको वेला यसै होटलमा (जसलाई अहिले र्याडिसन ब्लू मरिना होटल भनिन्छ) नाथुराम गोडे र नारायण आप्टेनामका व्यक्ति बस्न आएका थिए ।

समय बिहानको ११ बजेभन्दा अघिको थियो । दुवै जनाले एस देशपाण्डे र एसएन देशपाण्डेको नाममा होटलका कोठा बुक गराएका थिए । त्यसवेला अहिलेको जस्तो होटलमा कोठा बुक गराउँदा आफ्नो परिचय खुलाउने कुनै प्रमाण देखाउनुपर्दैनथ्यो । जे नाममा पनि होटलको कोठा बुक गराउन सकिन्थ्यो । यो लेख सौर्य दैनिकमा प्रकाशित छ।

ती दुवै जना विमानस्थलबाट १५ देखि २० मिनेटमा कालो र पहेँलो रंगको ट्याक्सीबाट कनोट प्लेस पुगे होलान् । उनीहरू अलबुकर्क रोड (जसलाई अहिले ३० जनवरी मार्ग भनिन्छ) भएर होटल गएको अनुमान गरिएको थियो । त्यति नै वेला गान्धीलाई अनशन तोड्न लगाउन बिडला हाउसतर्फ हजारौँ मानिस जाँदै गरेको ती दुई जनाले देखेको हुनुपर्छ ।

खासमा आप्टे र गोडसे गान्धीको हत्या गर्ने भयानक योजना कार्यान्वयन गर्न दिल्ली पुगेका थिए । उनीहरूलाई होटलको पहिलो तल्लामा रहेको ४० नं. कोठा उपलब्ध भएको थियो । मुम्बईबाट विमानमा आएका उनीहरू सफदरजंग विमानस्थलमा ओर्लिएका थिए भने उनीहरूका बाँकी साथी रेलबाट दिल्ली आइरहेका थिए ।

खासमा सन् १९४८ को जनवरी १२ मा गान्धीले अनशन थाल्न लागेको जब आप्टे र गोडसेले थाहा पाए, त्यसैवेला नै उनीहरूले गान्धीको हत्या गर्ने योजना बनाएका थिए । उनीहरूलाई गान्धीको अनशन चित्त बुझेको थिएन ।

गान्धीका कान्छो छोरा देवदास गान्धीकी छोरी तथा लेखिका सुकन्या भरत राम भन्छिन्, ‘गान्धीले दिल्लीमा १९४८ को जनवरी १३ मा किन अनशन सुरु गरे भनेर आप्टे, गोडसे र उनीहरूका साथी रूष्ट हुनुको एउटा कारण थियो । ‘दिल्लीमा मुस्लिमहरू मारिँदै थिए, उनीहरूका सम्पत्ति लुटिँदै थियो र हिंसा तथा आगजनी रोकिने कुनै छाँटकाँट नै देखिइरहेको थिएन । अन्त्यमा दंगा नियन्त्रणका लागि नैतिक दबाव सिर्जना गर्ने उद्देश्यका साथ गान्धीले अनशन सुरू गर्ने निर्णय जनवरी १२ मा गरेका थिए ।’

त्यतिवेला हिन्दुस्तान टाइम्सका सम्पादक रहेका गान्धीका छोरा देवदास गान्धीले आफ्ना बुवालाई अनशन नबस्न सुझाएका थिए । आप्टे, गोडसे र उनीहरूका साथीहरू रूष्ट हुनुको अर्को कारण थियो, सरकारी सम्पत्ति भारत र पाकिस्तानबीच बाँडफाँट गरिनु ।

सरकारी खजानामा रहेको रकम पनि बाँडफाँट गरियो । पाकिस्तानको हिस्सामा ७५ करोड रूपैयाँ आयो । सुरूमा पाकिस्तानलाई २० करोड दिइयो । बाँकी रह्यो ५५ करोड रूपैयाँ । गान्धी बाँकी रकम पनि पाकिस्तानलाई अविलम्ब दिइयोस् भन्ने चाहन्थे । गान्धीको यो कुरा गोडसेसहित उनका साथीहरूलाई मन परेको थिएन ।

आप्टे र गोडसेलाई बाँकी साथीहरूको प्रतीक्षा थियो । साँझ पर्नासाथ उनीहरूका साथी मदनलाल पाहवा, विष्णु करकरे र गोपाल गोडसे मरिना होटल पुगे । उनीहरू ह्यान्डग्रिनेड, टाइम बम र पेस्तोल लिएर दिल्ली आएका थिए ।

‘फ्रिडम एट मिड नाइट’ मा लेखकद्वय डोमिनिक ल्यापिएर र ल्यारी कोलिन्सले लेखेअनुसार गान्धीको हत्याबारे योजना बनाइरहँदा करकरे र आप्टेले मदिरा मगाए । गोडसेले मदिरापान गर्दैनथे । उनी कफीप्रेमी थिए । उनले मरिना होटलमा पटकपटक कफी मगाइरहन्थे ।

जनवरी २० मा प्रार्थनासभाका क्रममा गान्धीमाथि बम आक्रमण गर्ने योजना मरिना होटलमा बन्यो । यसबीचमा योजनामा सहभागी सबैले बिडला हाउसबारे बुझिरहे । उनीहरूले बिडला हाउसलाई निगरानीमा राखेका थिए । निर्धारित दिन आयो । नाथुराम गोडसे, गोपाल गोडसे, नारायण आप्टे, विष्णु करकरे र मदनलाल पाहवा ट्याक्सी लिएर बिडला हाउस पुगे । बिडला हाउसमा मदनलाल पाहवाले विस्फोट गराए ।

पछि थाहा भयो कि एउटा भारतमै निर्मित बम थियो जसमा ठूलो क्षति पु¥याउने क्षमता थिएन । त्यो विस्फोट गराएकोमा मदनलाल पाहवालाई पक्राउ गरियो । उनीहरू सबै गान्धीको ज्यान लिन उद्यत थिए । पहिला गान्धीको प्रार्थनासभामा बम हान्ने उनीहरूको लक्ष्य थियो । त्यसपछि त्यहाँ भागदौड मच्चिएपछि गान्धीमाथि गोली प्रहार गर्ने योजना थियो ।

पाहवा र विष्णु करकरे पहिले बिडला हाउस पुगिसकेका थिए । बाँकीलाई लिएर ट्याक्सी चालक सुरजित सिंह त्यहाँ पुगे । पछि तीनै सुरजित सिंह सरकारको तर्फबाट बयान दिन सहमत भए । मदनलाल पाहवा त्यहाँ एउटा फोटोग्राफरका रूपमा पुगेका थिए । विस्फोटपछि उनका साथी त्यहाँबाट भागे ।

त्यति भयावह घटनापछि बिडला हाउसको सुरक्षा व्यवस्था कडा बनाइनुपथ्र्यो । तर, के त्यस्तो कुनै प्रयास भएको देखिएन । यदि त्यस्तो प्रयास गरिएको भए गान्धी मारिने थिएनन् । अर्कोतर्फ पहिलो प्रयासमा सफलता नपाएपछि पनि गोडसे र आप्टे १० दिनभित्र दोस्रोपटक बम्बईबाट दिल्ली आए ।

जनवरी २० पछि दुवै जना बम्बई फर्केका थिए । प्रहरी कारबाहीमा पर्न सक्ने भएकोले उनीहरू मरिना होटल गएनन् । उनीहरूले पुरानो दिल्लीको रेल्वे स्टेशनको प्रतीक्षालयलाई सुरक्षित देखे । गोडसेले नारायण आप्टेसँग त्यही रात बिताए ।

जनवरी २७ मा गान्धी सूफी बख्तियार काकीको समाधिस्थल जाने सूचना उनीहरूलाई प्राप्त भयो । सो धार्मिक स्थलमा दंगा गर्नेहरूले क्षति पुयाएका थिए जसबाट गान्धी मर्माहत थिए । त्यो गान्धीको जीवनको अन्तिम कार्यक्रम थियो । त्यो कार्यक्रमबारे थाहा पाएपछि उनीहरूको रगत उम्लियो ।

त्यतिवेला विष्णु करकरे पनि गोडसे र आप्टेसँगै थिए । इतिहासकार दिलीप सिमियन भन्छन्, ‘गान्धी उक्त धार्मिकस्थल पुगेपछि उनलाई तुरून्तै मार्नुपर्ने उनीहरूको मनशाय देखियो । जनवरी ३० को त्यो कालो दिन थियो । त्यो दिन उनीहरूले गान्धीको हत्या गर्नु थियो । गान्धीमाथि नाथुराम गोडसेले गोली हान्ने योजना थियो ।

गान्धीको अन्तिम दिनका एक–एक क्षणबारे खुलासा गर्ने पत्रकार स्टिभन मर्फी लेख्छन्, ‘जनवरी २० को हमलापछि बिडला हाउसमा ३० जना प्रहरी तैनाथ गरिएको थियो । नेहरू र पटेलको आग्रहलाई गान्धीले पनि स्वीकारे । तर गोडसेले गान्धीमाथि गोली हान्ने वेला उनीसँग सादा पोसाकमा हुने प्रहरी एपी भाटिया अनुपस्थित हुन्छन् ।’

‘त्यो दिन भाटियालाई सुरक्षामा अन्यत्र खटाइन्छ । उनको सट्टा गान्धीको सुरक्षाका लागि अर्का सुरक्षाकर्मी हुँदैनन् । गान्धीसँग भइरहने सहयोगी गुरूवचन सिंह पनि त्यस दिन हुँदैनन् ।’

एउटा प्रश्न यो पनि थियो कि त्यतिवेला बिडला हाउसभित्र कसैले सजिलै प्रवेश पाउन सक्थे ? के त्यहाँ छिर्नेबारे सोधखोज गरिँदैनथ्यो ? बिडला हाउसको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले के गर्थे ?

भाटियालाई जनवरी ३० मा कसले र किन अन्यत्र खटाए ? के यी प्रश्नका उत्तर अब कसैले दिँदैन ? हो, जनवरी ३० मा चाँदनी चोक क्षेत्रमा सफाइकर्मीहरूले ठूलो प्रदर्शन गरिरहेका थिए । जसका कारण धेरै सुरक्षाकर्मीलाई त्यहाँ पठाइएको थियो ।

कहिँ भाटिया चाँदनी चोकमै त थिएनन ? अर्थात् गान्धीलाई मर्न दिन एक्लै छाडिएको थियो । जस्ता प्रश्नहरू पनि उठेका हुन् । अझ दुःखको कुरा त के छ भने साँझ बिहान गान्धीसँग रहने उनकी निजी चिकित्सक सुशीला नैयर पनि त्यो दिन उनीसँग थिइनन् । उनी पाकिस्तान गएकी थिइन् ।

गान्धीलाई गोली हानिएको केही बेरपछि डा. डिपी भार्गव र डा. जीवाजी मेहता घटनास्थल पुगेका थिए । डा. मेहताले नै गान्धीलाई मृत घोषित गरेका थिए । ‘द लाइफ अफ महात्मा गान्धी’ पुस्तकमा लुई फिशर लेख्छन, ‘नेहरू पनि तत्काल बिडला हाउस पुगे । उनी रगतले लतपतिएको गान्धीको शवसँग टाँसिएर रोइरहेका थिए ।’ ‘त्यसपछि गान्धीका कान्छो छोरा देवदास गान्धी, शिक्षामन्त्री मौलाना अबुल कलाम अजाद पनि बिडला हाउस पुगे ।’

गान्धी हत्याकाण्डका प्रमुख दुई अभियुक्तलाई फाँसीको सजाय दिइयो भने बाँकीलाई जन्मकैद दिइयो । उक्त दिनलाई भारतीयहरू कालो दिनका रूपमा लिने गर्छन् । (बिबिसिबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here