नेपालका तीन फिल्म निर्देशक ‘बर्लिनाले ट्यालेन्ट’ मा छानिए

0
108

काठमाडौँ — नेपालका तीन फिल्म निर्देशक ‘बर्लिनाले ट्यालेन्ट’ मा छानिएका छन् । प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२० को समानान्तर सेक्सनमा दीपक रौनियार, राजेश खत्री र किरण पोखरेल चयन भएका हुन् । रौनियारले हाइवे र सेतो सुर्य निर्देशन गरेका छन् ।

सर्टफिल्म जालगेडीपछि खत्री फिचर फिल्मको निर्देशनमा जुटेका छन् भने पोखरेलले अघिल्लो वर्ष विंग्स नामक सर्ट फिल्म बनाएका थिए। उनी कालो पोथीका मुख्य सहायक निर्देशक पनि हुन्।

२० फेब्रुअरीदेखि १ मार्चसम्म जर्मनीको बर्लिनमा चल्ने महोत्सव दौरान ‘बर्लिनाले ट्यालेन्ट’ हरु एक हप्ते विशेष कक्षामा सहभागी हुनेछन्। खत्रीका अनुसार ख्याति कमाएका निर्देशक, निर्माता, अभिनेता, सेल्स एजेन्ट, वितरक, क्यामेराम्यान आदिले अनुभव बाँडछन्। ‘यो सिक्ने मात्र नभई विश्व सिनेमञ्चमा आफ्नो सम्पर्क विस्तार गर्ने मौका पनि हो,’ उनले भने।

खत्री किन पनि उत्साही छन् भने यही फेस्टिभलको स्क्रिप्ट स्टेशन सेक्सनमा उनको निर्माणाधीन फिल्म श्यामश्वेत तस्बिर छानिएको छ। फेस्टिभलमा सहभागी संसारभरका उत्कृष्ट १० पटकथामा श्यामश्वेत तस्बिर परेको हो। अब उनलाई फेस्टिभल आयोजकले स्क्रिप्टको विशेष प्रशिक्षक उपलब्ध गराउनेछ। प्रशिक्षकको मार्ग निर्देशन अनुरुप बहस हुनेछ। जसमा अन्य फिल्मकर्मी पनि सहभागी हुन सक्नेछन्। यहीँबाट उनले फन्ड पाउने वा अन्य सहकार्य विस्तार गर्ने सम्भावना पनि रहन्छ।

श्यामश्वेत तस्बिर यसअघि एसिया सिने फन्ड र एसियन प्रोजेक्ट मार्केटमा छानिएको थियो। मुगुको गाँउको एक बच्चाले पासपोर्ट साइजको सादा तस्बिर प्राप्त गर्न नसक्दाको संघर्ष फिल्ममा बुनिएको खत्रीले जानकारी दिए। उनको सर्टफिल्म जालगेडीले केही विदेशी फेस्टिभलमा अवार्ड जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here