नायिका पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीविरुद्ध चलचित्र कलाकार संघमा उजुरी

0
58

नायिका पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीविरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएकी छिन् । निर्देशक सुदर्शन थापासँगै कलाकार संघ पुगेकी पूजा उजुरी दिदै गर्दा भावूक भएकी थिइन् ।

पत्रकार सुवेदीले बिहिबार सार्वजनिक कार्यक्रममा ‘दाह्रा निस्केकी महानायिका’ भनेपछि विवाद मुछिएका हुन् । नायिका पूजाको हाउभाउलाई लक्षित गर्दै दिएको अभिव्यक्ति बारे कलाकारले खुलेरै विरोध गरिरहेका छन् । कलाकारहरुले शारिरीक हाउभाउलाई लिएर कमेन्ट गर्न नहुने बताएका छन् ।

पूजाले भनिन्–‘३ महिना भैसकेको थियो । अघिल्लो ट्रोललाई मैले सहिरहेको थिएँ । फेरि मलाई अन्तरवार्ताका लागि बोलाउनुभयो, मैले आउँदिन भने । मान्छेलाई कहिलेपनि ह्यारेसमेन्ट गर्नका लागि बलात्कार नै गर्नुपर्छ भन्ने छैन । उहाँले मलाई हरेक हप्ता गिराएर बोलिरहनुभएको छ । पछिल्लो भाग हेरेपछि मलाई नराम्रो लाग्यो, उहाँले मलाई भनेको शब्दले मलाई निकै भावूक बनायो । यसपछि, मैले अब लड्छु भन्ने निर्णय गरेँ ।’

कलाकार संघमा उजुरी दिएकी पूजाले चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनमा पनि उजुरी दिएकी छिन् । साथै, उनले ‘प्रेन्स काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्ड’मा पनि उजुरी दिने बताइन् ।

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले पनि पूजाले अभिभावक संझेर कलाकार संघमा उजुरी दिएको भन्दै उनलाई न्याय दिने बताए । रविन्द्रले भने–‘भोली प्रकाशजीले कसैको नाम लिएको छैन भन्नुहोला । तर, उहाँले कसैको नाम नलिएपनि सिंगो चलचित्र क्षेत्रलाई होच्याउनुभएको छ । हामी आकस्मिक बैठक बसेर कसलाई के गर्नुपर्छ निर्णय गर्छौ ।’

निर्देशक सुदर्शन थापाले ट्रोल सहेर भर्खरै शान्त भैरहेको अवस्थामा फेरि पूजामाथि हमला भएको भन्दै भने–‘पूजामाथि त उहाँले पटक पटक कार्यक्रममार्फत ह्यारेसमेन्ट गर्नुभएको छ । तर, अहिले उहाँले भनेको कुनै पनि मानिसले सुन्न सक्दैन । यो समय अती नै भयो । कोही मानिसलाई शारीरिक खोट लगाएर ह्यारेसमेन्ट गर्न पाइदैन । पूजा उहाँको छोरी थियो भने के भन्नुहुन्थ्यो ? पत्रकारले अन्तरवार्तामा बोलायो भन्दैमा जानु नै पर्ने ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here