घिमिरेले अख्तियारबाट धोका दिए, अब गोकुललाई मन्त्री बनाउँछु: प्रधानमन्त्री ओलि

0
30

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका सुरुवाती सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा फेरि मन्त्री बन्ने भएका छन्। उनीविरुद्धको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी राखे पनि प्रधानमन्त्री ओलीले उनलाई फेरि मन्त्री बनाउने तयारी गरेका हुन्।

प्रधानमन्त्री ओलीले आफू निकट नेता र मन्त्रीहरुसँग निवर्तमानमन्त्री बाँस्कोटालाई फेरि मन्त्री बनाउनु पर्नेमा जोड दिन थालेका छन्। एक मन्त्रीसँग ओलीले भने, ‘मैले धेरै जोड गरेर अख्तियारमा ल्याएँ। तर, नवीन घिमिरेले त्यो कुरा टुंगो लगाएर जाउँ भनेको मानेनन्, धोका दिए। अब मैले उनलाई मन्त्री बनाउँछु। अख्तियारले निर्णय गर्दैगर्छ।’

ओलीले अहिलेको चरणमै मन्त्री बनाउने चाहना राखेका छन्। उनी निकटहरुले भने अख्तियारमा रहेको ७० करोड कमिसनको बार्गेनिङ काण्ड टुंगो लागेपछि मन्त्री बनाउन सुझाव दिएका छन्। बाँस्कोटाले ७० करोड कमिसनको बार्गेनिङ गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका थिए।

सरकारले राम्रो काम गरे पनि अहिलेका मन्त्रीहरुले प्रचार नगरेको भन्दै ओली असन्तुष्ट छन्। ती मन्त्री भन्छन्, ‘प्रधानमन्त्रीज्यूलाई सरकारले धेरै नै राम्रो काम गर्दा पनि प्रचार नभएको भन्ने लागेको छ। सबैले आआफ्नो मन्त्रालयको काम गरिरहेका छौँ। हामीले केही नगरेको जस्तो पो गर्नुहुन्छ।’

ओलीले विपक्षीलाई कडा जवाफ दिने बाँस्कोटामात्रै भएको बताउँछन्। उनी भन्छन्, ‘गोकुलले मात्र विपक्षीलाई कडा जवाफ दिनसक्छ। सरकारले इतिहासमै सफल काम गर्दा पनि अन्य मन्त्रीहरुले प्रचार गर्न सकेनन्। विपक्षीलाई पनि जवाफ दिन सकेनन्। त्यसैले जे भए पनि यसै पटक बाँस्कोटालाई मन्त्री बनाउनुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here