बास्कोटा प्रकरणमा बिजयप्रकाश मिश्रलाइ ५ बर्ष केैद र ५० हजार जरिवाना हुन सक्ने

0
16

पुर्व सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बास्कोटाले अनुमति विना अडियो रेकर्ड गरेको र झुटो आरोप लगाएर सञ्चार माध्यममार्फत गाली बेइज्जती गरेको भन्दै स्वीस कम्पनीका नक्कली एजेन्ट विजय मिश्रविरुद्ध अदालतमा उजुरी दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा बदनाम गराउने उदेश्यले कमिसन मोलमोलाइ गरेको नक्कली अडियो बनाइ सार्वजनिक गरेपछि राजीनामा दिएका बास्कोटाले गत फागुनमा जिल्ला अदालत काठमाडौंमा आफ्ना वारेस राजेन्द्र बोगटीमार्फत उजुरी दिएका थिए । बास्कोटाले मिश्रले मुलुकी अपराध संहिता ऐनको दफा २९३, ३०५, ३०६ र ३०७ विपरीतको काम गरेको जिकिर गरेका छन् र ऐनको दफा २९३ (२), दफा ३०५ (३) र ३०७ (१) अनुसार हदैसम्म सजाय माग गरेका छन् ।

बास्कोटाले अनुमति नलिई कुराकानी रेकर्ड गरेका कसूरमा कारबाही माग गरे पनि उक्त अडियो फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराउने उद्देश्यले सञ्चार माध्यममा पुर्‍याएको दावी गरेका छन् ।

‘… प्रतिवादीले झुठा प्रमाण सिर्जना गरी मसँग भएको भनिएको कथित अडियो टेप मिति २०७६/११/०७ मा विद्युतीय तथा सार्वजनिक सञ्चार माध्यममा प्रशारण गरी गराई मलाई बेइज्जती गर्ने कार्य गरेका छन्’ उनले आफ्नो उजुरीपत्रमा भनेका छन् ।

बास्कोटाले आफूले मिश्रसँग कुराकानी नै गरेको भए पनि आफ्नो अनुमति नलिई रेकर्ड गर्न नमिल्ने जिकिर पनि गरेका छन् । ‘मैले सार्वजनिक भाषण तथा वक्तव्यमा उल्लेख गरेको अवस्थामा बाहेक कथं कदाचित प्रतिवादीसँग कुनै कुराकानी भएको छलफल भएको रहेछ भने पनि त्यसलाई मेरो मञ्जुरी विना यान्त्रिक उपकरणको प्रयोग गरी ध्वनी अंकन गर्नु र त्यसलाई प्रशारण गर्नु गराउनु समेत मुलुकी अपराध संहिताको दफा २९३ विरुद्धको कार्य हुनेमा पुरै झुटा प्रमाण सिर्जना गरेबाट नै प्रतिवादीको बदनियत स्पष्ट हुन्छ ।’

बास्कोटाले मिश्रविरुद्ध अनुमति नलिई अडियो रेकर्ड गरेको, गाली गरेको, सञ्चार माध्यममार्फत बेइज्जत गरेको आरोपमा कारबाही माग गरेका छन् । जसअनुसार उनले अनुमति नलिई अडियो रेकर्ड गरेकामा २ वर्ष कैद र २० हजार जरिवाना, गाली गरेकामा १ वर्ष कैद र १० हजार जरिवाना र सञ्चार माध्यममार्फत बेइज्जती गरेकामा २ वर्ष कैद र २० हजार जरिवाना माग दावी गरेका छन् ।

बास्कोटाले उक्त अडियो सञ्चार माध्यममार्फत सार्वजनिक हुँदा भएको क्षतिको मनासिब क्षतिपूर्ति र मुद्दा लड्दा लागेको खर्च पनि मिश्रसँग भराउन माग गरेका छन् ।

बास्कोटाको फिराद पत्रमा मुख्य बुँदा हरु

१. विजयप्रकाश मिश्रले झुठा प्रमाण सिर्जना गरी मसँग भएको भनिएको कथित अडियो टेप ७ फागुनमा विद्युतीय तथा सार्वजनिक सञ्चार माध्यममा प्रसारण गराई मलाई बेइज्जत गर्ने कार्य गरेको ।

२. फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराउने उद्धेश्यले मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातीलाई होच्याउने काम गरेको ।

३. सुरक्षण मुद्रण सम्बन्धी जानकारी दिने भन्दै विजयप्रकाश मिश्रले मलाई भेट गरेका हुन । उनले मसँग भेट गर्न आउँदा केबीए–नोटासिस एसए (स्वीटजरल्याण्ड)को नेपाल प्रतिनिधि हुँ भनी परिचय दिएका थिए ।

४. मिश्रद्वारा सिर्जित कथित अडियो टेपमा कुनै सत्यता छैन । रकम लेनदेन गर्ने हिसाबले कसैसँग मैले कुरा गरेको छैन ।

५. सार्वजनिक भाषण तथा वक्तव्यमा उल्लेख गरेको अवस्थामा वाहके कथंकदाचित प्रतिवादीसंग कुनै कुराकानी भएको, छलफल भएको रहेछ भने पनि त्यसलाई मेरो मञ्जुरी विना यान्त्रिक उपकरणको प्रयोग गरी ध्वनी अंकन गर्नु र त्यसलाई प्रशारण गर्नु गराउनु मुलुकी अपराध संहिता विपरीत छ ।

६. मिश्र जस्ता विभिन्न कम्पनीका कमिशन एजेण्टहरुले वदनियत साथ आफ्नो निहित तुच्छ स्वार्थ पुरा गराउन नेपाल राज्य विरुद्ध समेत काम गर्ने गरेको देखिएपछि मैले सुरक्षण मुद्रण सम्वन्धि कार्य सरकार–सरकार विच मात्र खरिद गर्ने विधि अवलम्वन गर्नु राष्ट्रको हितमा हुने भएकोले सोही प्रकृया अगाडि वढाएको थिए ।

७. मलाई फसाउने उद्देश्यले रचिएको प्रपंच हो भन्ने कुरा यस सम्वन्धमा मैले लिएको निर्णय र कार्यवाट नै स्पष्ट भै सकेको छ । सरकार–सरकारबीच मात्र खरिद गर्ने विधि अवलम्वन गर्ने मैले निश्चय गरेपछि परराष्ट्र मन्त्रालय मार्फत २२ नोभेम्बर २०१८ मा मित्र राष्ट्र स्वीटजरल्याण्डको दुतावासलाई सुरक्षण मुद्रण पुर्वाधार निर्माणका लागि पत्राचार भएको थियो । दूतावासवाट १९ डिसेम्वर २०१८ मा बठैक बस्ने भनिएको भएता पनी स्वीजरल्याण्ड सरकारबाट सुरक्षण मुद्रण पुर्वाधार स्थापना सम्बन्धमा कुनै जवाफ प्राप्त नभएको हुँदा सो वैठक भएन ।

८. मिश्रले नेपालका संचार माध्यममा अन्तर्वार्ताको क्रममा व्यक्त गरेको र प्रतिवादीले प्रशारण तथा प्रकाशन गराएको कुराले नेपालसंग लामो कुटनैतिक सम्वन्ध रहेको मित्रराष्ट्रहरू जर्मन तथा फ्रान्सलाई राज्यको तहवाट नै भ्रष्टाचारमा संलग्न मुलुकको रुपमा चित्रण गर्ने दुस्प्रयास गरेका छन् ।

९. मिश्रले नेपालका संचार माध्यममा अन्तरवार्ताको क्रममा व्यक्त गरेको र प्रतिवादीले प्रशारण तथा प्रकाशन गराएको कुराले नेपालसंग लामो कुटनैतिक सम्वन्ध रहेको मित्रराष्ट्रहरू जर्मन तथा फ्रान्सलाई राज्यको तहवाट नै भ्रष्टाचारमा संलग्न मुलुकको रुपमा चित्रण गर्ने दुस्प्रयास गरेका छन् ।

१०. मुलुकी अपराध संहिताको दफा २९३, ३०५, ३०६ र ३०७ विपरीतको काम गरेकाले ऐनको दफा २९३ (२), दफा ३०५ (३) र ३०७ (१) अनुसार हदैसम्म सजाय गर्नुपर्ने, क्षतिपूर्ति भराउनु पर्ने र यो मुद्दा लड्दा लागेको खर्च मिश्रबाट भराउनुपर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here