बुटवलमा विद्यालयसंग कक्षा सञ्चालनको कार्ययोजना माग

0
110

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को महामारी रोकथामलाई प्रभावकारी बनाउँदै विद्यालय सञ्चालनको अवस्थाका बारेमा सरोकारवालासंग सुझाव माग गरेको छ । महामारी रोकथाममा मुलुकमै नमूना काम गर्दै आएको उपमहानगरले जनस्वास्थ्यको संवेदनशिलता र बालबालिकामा रहेको जोखिमलाई मध्यनजर गरी विकल्प समेत तय गरेर कार्ययोजना माग गरेको हो ।

शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा नागरिक अगुवाहरुसंग महामारीबाट जोगिंदै विद्यायल सञ्चालन गर्ने उपायका बारेमा उपमहानगरले सुझाव माग गरेको हो । उपमहानगरलाई नागरिकस्तरबाट पनि विभिन्न माध्यमबाट सुझाव दिन सकिनेछ ।

images
बुटवल उपमहानगरले कोरोना महामारी (कोभिड–१९) को संक्रमण कम रहेका वडाका विद्यालयमा पठनपाठन नियमित गराएको छ भने संक्रमणको जोखिम धेरै रहेको ठाउँमा के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासंग सुझाव माग गरेको छ ।

उपमहानगरले शुक्रबार सार्वजनिक विज्ञप्ति जारी गर्दै विद्यालयसंग कक्षा सञ्चालनका लागि कार्ययोजना माग गरेको छ । मंसिर ८ गतेसम्ममा कार्ययोजना पेश गर्नुपर्नेछ ।

बुटवलका वडा नम्बर १ देखि १३ मा रहेका सामुदायिक र संस्थागत विद्यालयमा नियमित कक्षा सञ्चालनको अवस्था, सम्भावना र जोखिमका बारेमा विस्तृत विवरण उपलव्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख शिवराज सुवेदीले बताए ।
तोकिएका वडाका विद्यालयहरुबाट आउने कार्ययोजना र सुझावलाई अध्यय्न गरेर स्वास्थ्य सम्बन्धी विज्ञ, चिकित्सक, प्राविधिकसंग थप छलफल गरेर कक्षा सञ्चालनको निर्णय गरिने प्रमुख सुवेदीले बताए ।

स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै थप व्यवस्थित ढंगबाट सिकाइ केन्द्र सञ्चालन गर्ने बारेमा वडा तहबाटै वस्तुगत अवस्थाको यथार्थता र सम्भावित जोखिमको आंकलनसहित सुझाव माग गरिएको प्रमुख सुवेदीको भनाइ छ ।

कोभिड संक्रमणको जोखिम उच्च रहेकोले विद्यालय संचालनका लागि विशेष सतर्कता अपनाउन जरुरी भएकोले विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधार समेत मध्यनजर गरी स्वास्थ सम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी उपयुक्त विकल्प प्रयोग गर्न निर्देशन दिइएको सुवेदीले बताए ।

उपमहानगरले जारी गरेका विकल्पहरुमध्ये उपयुक्त विकल्पहरु प्रयोग गर्ने गरी विद्यालय संचालन सम्बन्धी कार्ययोजना तयार गरी मंसिर ८ गतेभित्र उपमहानगरको कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ ।

कोभिड संक्रमणको जोखिम उच्च रहेकोले विद्यालय संचालनका लागि विशेष सतर्कता अपनाउन जरुरी भएकोले विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधार समेत मध्यनजर गरी स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी सरोकारवालको सहकार्यमा ती वडामा विद्यालय सञ्चालनको कार्ययोजना बनाइनेछ ।

उपमहानगरले वडा नम्बर १ देखि १३ सम्मका क्षेत्रलाई संक्रमितको संख्या, सक्रिय संक्रमित र निको भएका दरका आधारमा अझै पनि जोखिमयुक्त मानेको छ । जोखिमयुक्त यीनै वडामा रहेका विद्यालयमा नियमित पठन पाठन (फेस् टू फेस् मेथड) सञ्चालन गर्न सकिने नसकिने विषयमा कार्ययोजना माग गरिएको हो ।

बुटवलका वडा नम्बर १४ देखि १९ सम्म कोभिड संक्रमणको जोखिम कम रहेका क्षेत्र हुन । यहाँका संक्रमितको संख्या, निको हुनेको संख्या र सक्रिय संक्रमितको अवस्थाका आधारमा यी वडालाई जोखिम कम रहेको मानिएको हो ।

संक्रमण भएका, निको भएका, संक्रिय संक्रमित रहेका संख्याका आधारमा जोखिमको अवस्थाको मूल्यांकन गर्दै शिक्षण सिकाई केन्द्रहरु मापदण्ड पूरा गरेर सञ्चालन गर्न अनुमति दिइसकिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । उनले जोखिम रहेका क्षेत्रमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर कार्ययोजना माग गरिएको बताइन् ।

वडा नम्बर १४ देखि १९ मा रहेका सामुदायिक र संस्थागत दुबै विद्यालयमा शिक्षण सिकाइका कक्षाहरु दशैंको पूर्णिमाको भोलिपल्ट देखि नै नियमित सञ्चालनमा रहेको र त्यहाँ पनि स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here