विन्ध्यवासिनी म्युजिकका सञ्चालकलाई कारबाही माग गर्दै ५७ कलाकारद्वारा प्रहरीसमक्ष अपिल

0
116

काठमाडौं । गायक प्रमोद खरेललाई गाली-गलौज गरेको भन्दै विन्ध्यवासिनी म्युजिकका सञ्चालकलाई कारबाहीको माग गर्दै कलाकारहरुले प्रहरीसमक्ष अपिल गरेका छन् ।

५७ गायक/गायिकाले हस्ताक्षर गरेर महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीविरुद्ध अपिल जारी गरेका हुन् । आफ्नै लगानी र कपीराइट रहेको ‘प्रणय’ एल्बम विन्ध्यवासिनी म्युजिकसँग नियमअनुसार फिर्ता माग्दा रेग्मीले गालीगलौज गरेको अपिलमा उल्लेख छ । “सद्‌भावपूर्ण अनुरोधलाई बेवास्ता गरी रेग्मी पक्षबाट गालीगलौज, अपमानपूर्ण र अन्यायपूर्ण अभिव्यक्ति भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,” अपिलमा लेखिएको छ, “उक्त म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई स्रस्टा प्रस्तोताहरुप्रति लक्षित गरी गरिएका गाली-गलौज र मानमर्दनविरुद्ध कानुनी प्रक्रियाद्वारा आवश्यक कारबाही गरिदिन हुन अपिल गर्दछौं ।”

अपिलसहित कारबाहीको माग गर्दै हस्ताक्षर गर्नेमा प्रमोद खरेलसहित लक्ष्मण शेष, राजेशपायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरुपराज आचार्य, इन्दिरा जोशी, धीरज राई, उदेश श्रेष्ठ, अर्जुन पोखरेल, कमल खत्री, तुलसी पराजुली, कालीप्रसाद बासकोटा, चेतन सापकोटा, वसन्त सापकोटा, उदय सोताङ, अञ्जु पन्त, रामकृष्ण ढकाल, अनन्द कार्की, दीपक वज्राचार्य, सन्तोष लामा, जेम्स प्रधान, राज सिग्देल, निशान भट्टराईलगायत छन् ।

प्रहरीसमक्ष स्रस्टाहरुले गाली-गलौजको मुद्दामा कारबाहीका लागि अपिल गरे पनि यो मुद्दा भने अदालत हेर्छ । त्यसैले प्रमोद केही दिनमै अदालत जाने तयारीमा छन् । “प्रहरीलाई त हामीले बोधार्थ दिएका हौं । जानकारी गराएका हौं,” प्रमोद भन्छन्, “अदालत जाने तयारी भइरहेको छ ।”

यसैबीच, प्रमोदले सुवासविरुद्ध कपीराइटको उजुरी गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । उजुरी परेकाले प्रहरीले आवश्यक कारबाही अगाडि बढाउने प्रवक्ता विष्टले बताए ।

केही दिनअगाडि गायक/गायिकाहरुको संस्था प्रस्तोता समाजले प्रमोदलाई अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान २०७२, प्रतिलिपि अधिकार २०५९ र नियमावली २०६१ बमोजिम कानुनी उपचार खोज्न सुझाव दिएको थियो ।

विन्ध्यवासिनी म्युजिकले विनाअनुमति प्रमोदले आफूले तयार पारेको गीत-संगीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा प्रयोग गरिरहेको भन्दै रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । २०६६ चैत २७ देखि प्रणय एल्बमको व्यापार तथा बजार प्रवर्द्धनका लागि पाँच वर्षको समय विन्ध्यवासिनी म्युजिकसँग रहे पनि अहिलेसम्म सम्झौता पुनः नवीकरण नगरी व्यापार-व्यावसाय गरिरहेको भन्दै प्रस्तोताको प्रतिलिपि अधिकारसँगै आर्थिक अधिकारसमेत हनन् भएको भन्दै प्रमोद कानुनी उपचार खोज्ने तहमा पुगेका हुन् । समाचार https://baahrakhari.com बाट …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here