काठमाडौंमै ५० रूपैयाँमा सादा खाना, ६० रूपैयाँमा मासु भात

0
70

काठमाडौं। काठमाडौंमा एक छाक खाना खानुपर्‍यो भने कति पैसा खर्च हुन्छ? त्यसमा मासु भात नै खानुपर्‍यो भने त दुई दिनको सादा खानले एक छाकलाई पनि पुग्दैन।

सामान्यतया सादा खाना खानुपर्‍यो भने कम्तिमा एक सय रूपैयाँ गोजीमा हुनैपर्छ। यो तपाई हामीले खाएको, बुझेको र सुनेको कुरा हो। तर, अब ५० रूपैयाँ गोजीमा भयो भने पनि पेटभरी खाना खान पाइनेछ। त्यसमा १० रूपैयाँ थपेर ६० रूपैयाँ पुर्‍याउनुभयो भने त मासु भात नै खान पाइन्छ।

वसन्तपुर दरबार क्षेत्रबाट परोपकार भिमसेनस्थान नजिकै रहेको ‘खाना सबैलाई’ सामुदायिक भान्छाले यसरी खाना खुवाउँदै आएको छ। यहाँ खाना खानको लागि दैनिक तीन सय भन्दा बढी ग्राहकहरू आउँछन्। जो सस्तोमा गुणस्तरीय र स्वादिष्ट खाना खाएर जान्छन्। जोगेन्द्र शाह दुई महिनादेखि त्यही सामुदायिक भान्छामा नियमित खाना खान्छन्।

त्यहाँको सरसफाई, खानाको गुणस्तर र स्वादिष्टताले उनलाई यो होटल कुनै विदेशीले चलाएको जस्तो लागेको थियो। उनले प्रश्न गरे, “ए बाबु! यो होटल कुन देशको नागरिकले सञ्चालन गरेको हो?” उनले यस्तो प्रश्न गरिरहँदा सामुदायिक भान्छाका सञ्चालक कृष्णहरि भट्टराई त्यहिनेर थिए। उनले आफूलाई देखाउँदै भने, “यो त हामीले नै सञ्चालन गरेका हौं।”

यति कम रूपैयाँमा एकदम राम्रो खाना खुवाएको भन्दै जोगेन्द्रले सञ्चालकहरूलाई धन्यवाद दिए।

उनीजस्तै सञ्जय चौधरी कालिमाटी क्षेत्रमा भारी बोक्ने काम गर्छन्। कोरोना महामारीका कारण अचेल उनको आम्दानी पनि निकै कम छ। आफूले कमाएको पैसाले होटलमा खाना खायो भने त घर खर्चको लागि बच्दैन। त्यसैले उनी पनि अचेल खाना सबैलाई सामुदायिक भान्छाका नियमित ग्राहक बनेका छन्।

“बाहिर होटलमा सादा खाना खाँदा एक पटकमा एक सय रूपैयाँ तिर्नुपर्छ। यहाँ त त्यही सय रूपैयाँले बिहान बेलुका नै खान पाइन्छ”, सञ्जयले भने, “यसरी यहाँ खाना खान आउन थालेदेखि मैले कमाउने पैसा बचेको छ। त्यो पैसा अन्य घरखर्चका लागि प्रयोग गर्छु।”

यो भान्छा पुस ९ गतेबाट सञ्चालनमा आएको थियो। कोरोना महामारीको समयमा निःशुल्क खाना तथा खाद्यान्न वितरण गर्दै आएका कृष्णहरि र नवराज मोक्तान मिलेर गैर–नाफामूलक सामुदायिक भान्छाको स्थापना गरेका थिए।

उनीहरूले साधारण मानिस र न्यून आय भएकाहरूलाई भनेर छुट्टाछुट्टै मूल्यसूची बनाएका छन्। लक्षित वर्गका लागि ५० रूपैयाँमा सादा खाना (भात, दाल, तरकारी, अचार र सलाद) र ६० रूपैयाँमा मासुसहित खाना खुवाइन्छ।
त्यस्तै त्यो लक्षित वर्गबाहेककाले पनि त्यहाँ गएर खाना खान सक्ने सञ्चालक कृष्णहरिले बताए।

लक्षित वर्गभन्दा अरु अर्थात् पैसा तिरेर खान सक्नेलाई सादा खाना एक सय रूपैयाँ र मासुसहितको खाना सेटलाई ११० रुपैयाँ तोकेका छौं। कृष्णहरिले भने, “यसो गर्नुको उद्देश्य भनेको सामान्य मानिसबाट अलि बढीमा खाना खुवाउँदा आएको केही नाफा लक्षित वर्गको लागि होस् भन्ने हो।”

रेस्टुरेन्ट बिहान साढे नौदेखि साढे १२ बजेसम्म र बेलुकी भने ६ देखि ८ बजेसम्म मात्र खुल्छ।

“यहाँ हामीले व्यापार गर्ने भन्दा पनि न्यून आय भएका मानिसहरूलाई केही राहत होस् भन्ने नै हाम्रो प्रमुख उद्देश्य हो”, अर्का सञ्चालक नवराजले भने।

सुरूमा होटल सञ्चालन गर्नुभन्दा अगाडि नै कालीमाटी, भीमसेनस्थान लगायतका वरपरका क्षेत्रका श्रमिक र न्यून आय भएकाहरूलाई आफ्नो योजनाबारे जानकारी दिएका थिए।

अहिले नौं सय भन्दा बढीलाई सहुलियत खानाको लागि कुपन बाँडिएको उनको भनाइ छ। सहुलियतदरमा खाना खान पाउने वर्गमा दैनिक ज्यालादारी गर्ने मजदुर, भरिया, निर्माणसम्बन्धी कामदार, फुटपाथ व्यापारी, सफाइमा खटिने कामदारलगायत ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्ति तथा न्यून आय भएका मानिसहरू छन्। विद्यार्थीहरूलाई समेत सहुलियतदरमा नै खाना खुवाइनेछ।

दैनिक खाना खाने न्यून आय भएकाहरूलाई सहुलियतको कुपन र साधारण मानिसहरूलाई साधारण कुपन नै बनाएका छन्। उक्त कुपन प्रयोग गरेर हरेक दिन सोही दरमा खाना उपलब्ध गराउने व्यवस्था मिलाएको भट्टराईले बताए।

कोरोना महामारीका कारण आर्थिक संकटमा परेकाहरूलाई केही राहत मिलोस् भनेर नै सामुदायिक भान्छाको अवधारण अघि सारिएको उनको भनाइ छ। उनीहरूलाई हगिङ नेपाल नामक संस्थाले सहयोग गर्दै आएको छ। सुरुमा स्थापना गर्दा पनि सोही संस्थाले सहयोग गरेको थियो। भने अहिले पनि व्यवसाय सञ्चालनको क्रममा आउने घाटालाई केही हदसम्म भएपनि त्यहिबाट पूर्ति भइरहेको भट्टराईले बताए।

सहुलियतदरको सामुदायिक भान्छा सञ्चालन गर्दै गर्दा उनीहरूलाई केही चुनौती छन्। एकातिर आफ्नो कार्यलाई कसरी निरन्तरता दिने भन्ने छ भने अर्कोतिर कसरी सेवालाई थप विस्तार गर्ने भन्ने रहेको मोक्तानको भनाइ छ। काम गर्दै जाँदा केही होटल व्यवसायीहरूले भने सांकेतिक रूपमा आपत्ति जनाएका छन्।

“सबैजना उहाँहरूकै ग्राहक थिए। सस्तोमा खाना खान पाउने भएपछि हाम्रो आए। त्यसपछि केही व्यक्तिहरू आएर असहमति व्यक्त गरे”, सञ्चालक भट्टराईले भने। सामुदायिक भान्छामा आर्थिक, खाद्यान्न तथा स्वयमसेवकको रूपमा पनि सेवा गरेर पनि सहयोग गर्न सकिने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here