विस्फोटपछि शोकमा डुब्यो काबुल

0
699

सरकारले पर्याप्त सुरक्षा प्रदान नगर्दा ठूलो जनधनको क्षति भएको सर्वसाधारणको गुनासो

अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको भीषण कार बम हमलापछि काबुलवासी शोकमा डुबेका छन् । आक्रमणका कारण सिंगो काबुल शोकमा डुबेको हो । राजधानी काबुलस्थित कूटनीतिक नियोगनजिकै गराइएको सो विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको थियो । बुधबार बिहान व्यस्त समयमा गराइएको सो हमलामा कूटनीतिक नियोगका कर्मचारीसहित चार सय ५० भन्दा बढी घाइते भएका थिए । विस्फोटबाट जर्मन, भारत, अमेरिका, बेलायत, क्यानडालगायतका विदेशी दूतावासमा क्षति पुगेको थियो ।

सरकारले पर्याप्त सुरक्षा व्यवस्था गरेन
बुधबारको हमला डेढ दशकयताकै सबैभन्दा भीषण हमला बताइएको छ । स्थानीय बासिन्दा आफन्तको शवको अन्तिम संस्कारमा जुटिरहेका छन् । सरकारले पर्याप्त सुरक्षा प्रदान गर्न नसक्दा ठूलो जनधनको क्षति भएको उनीहरूले गुनासो गरेका छन् । ‘सरकारको फितलो सुरक्षा व्यवस्थाका कारण अफगानिस्तानमा बारम्बार रक्तपात हुने गरेको छ,’ एक पीडितले भने । ‘सरकार सर्वसाधारणको सुरक्षा गर्न पूर्णतः विफल भएको छ,’ विस्फोटमा भाइ गुमाएका एक पीडितले भने ।

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा निन्दा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको राजधानी काबुलमा भएको भीषण बम हमलाको निन्दा गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइटहाउसले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । बम हमलामा घाइते भएका व्यक्तिलाई अमेरिकाले आवश्यक सहयोग गर्ने राष्ट्रपति ट्रम्पले बताएका छन् । अफगानिस्तानमा रहेको अमेरिकी दूतावासमार्फत अफगानिस्तानलाई आवश्यक सहयोग गर्ने विज्ञप्तिमा जनाइएको छ । मुसलमानहरूको महान् पर्व रमजानको महिनामा भएको सो हमलाको विश्व समुदायले कडा निन्दा गरेको छ ।

चार प्रहरी बेपत्ता
आक्रमणपछि चारजना अफगान प्रहरी हराइरहेका छन् । उनीहरू सबैजना विभिन्न कूटनीतिक नियोगको सुरक्षामा खटिएका थिए । हमलामा आफ्ना एक संवाददाता हराइरहेको इरानको एक सञ्चारमाध्यमले जनाएको छ । सो आक्रमणमा बिबिसीका चारजना संवाददाता घाइते हुनुका साथै एक सवारीचालकको मृत्यु भएको छ । विस्फोटपछि जर्मनीको दूतवास भवनमा एक सूचना टाँस गरी अनिश्चितकालका लागि बन्द गरिएको जनाइएको छ । विस्फोटस्थल राष्ट्रपति कार्यालयबाट केही मिटरको दूरीमा पर्छ ।

सरकारको दाबी
आक्रमणको २४ घन्टा बित्दासम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । सो हमलामा अतिवादी समूह हक्कानी नेटवर्कको संलग्नता रहेको अफगानिस्तान सरकारले दाबी गरेको छ । अफगान राष्ट्रिय सुरक्षा निर्देशनालय र गुप्तचर निकायले एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै कूटनीतिक नियोगहरूमा भएको हमलामा हक्कानीको संलग्नता रहेको दाबी गरेका हुन् । गृह मन्त्रालयका प्रवक्ता सेद्दिक सेद्दिकीले पनि आक्रमणमा हक्कानीको संलग्नता रहेको दाबी गरेका छन् । यसअघि सो समूहले अफगानिस्तानका पूर्वी प्रान्तहरू र राजधानी काबुलमा ठूला हमला गरेको थियो ।

अस्पतालमा भिड
आक्रमणमा घाइते भएका सयौँ मानिसलाई राजधानी काबुलका विभिन्न अस्पतालमा उपचार गरिएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आफन्तको स्वास्थ्यस्थिति बुझ्न अस्पताल परिसरमा सर्वसाधारणको भीड लागेको छ । यसअघि बिरामी उपचार गरिरहेका अस्पताललाई पनि अतिवादीले निसाना बनाएकाले अस्पतालमा थप हमला हुने त्रास बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here