लमजुङको न्यादी खोलामा बन्न लागेको ४०.२७ मेगावाट क्षमताको विद्युत् आयोजना साउन ०७९ मा सम्पन्न हुने
लमजुङको मस्र्याङ्दी गाउँपालिका (साविक भुलभुले र बाहुनडाँडा गाविस)मा निर्माण हुन लागेको सुपर न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक सिउरी न्यादी पावर प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)मा हस्ताक्षर भएको छ । न्यादी खोलाको पानीबाट ४०.२७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बन्न लागेको आयोजनाको शुक्रबार पिपिए भएको हो ।
आयोजना निर्माणको काम ६ महिनाभित्रमा सुरु हुनेछ । आयोजनाबाट १ साउन ०७९ बाट विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको कम्पनीका प्रबन्ध सञ्चालक शैलेन्द्र गुरागाईंले जानकारी दिए । पिपिएमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका प्रबन्ध सञ्चालक गुरागाईंले हस्ताक्षर गरेका थिए ।
उक्त आयोजना ९३.८६ वर्ग किलोमिटर जलाधार क्षेत्र हुने साविक बाहुनडाँडा गाविस वडा नं. १ मा न्यादी खोलाको ६.८ घनमिटर प्रतिसेकेन्ड पानीलाई ३० मिटर लामो र ३ मिटर उचाइको बाँध बाँधेर ३ वटा ओरिफिस भएको ३ मिटर चौडाइ र १.५ मिटर गहिराइ भएको इन्टेक हुँदै ७२ मिटर लामो तथा १८ मिटर चौडाइको बालुवा थिग्राउने पोखरीमा ल्याइनेछ ।
उक्त आयोजनाको पानीलाई सुरुङमार्फत साविक बाहुनडाँडा–२ स्थित काफलडाँडामा निर्माण गरिने सर्ज ट्यांक हुँदै पेनस्टक पाइपमार्फत तालकुना भन्ने ठाउँमा पावर हाउस बनाई ६९७.७ मिटर हेड प्राप्त गरी ४०.२७ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी रहेको छ ।