राउन्ड टेबल : सुर्तीजन्य पदार्थ नियन्त्रणका उपाय र चुनौती

0
633

सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत सन्देशमूलक चित्र छाप्न सर्वाेच्च अदालतले आदेश दिए पनि प्रभावकारी कार्यान्वयन भएको छैन । सर्वोच्चले आदेश दिएको दुई वर्ष बित्न लाग्दासमेत त्यसको कार्यान्वयन सम्बन्धित निकायबाट हुन नसक्नु दुःखद भएको सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्न अघि सरेका विभिन्न संस्थाले बताएका छन् । पछिल्लो समय विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको सेवनले अनेक समस्या निम्त्याइरहेको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बताए । ‘साउथ एसिया टोबाको कन्ट्रोल लिडरसिप’ कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले सुर्तीजन्य पदार्थको सेवन चुनौतीका रूपमा देखापर्दै गएको बताए । कार्यक्रममा नेपाल, भारत, भुटान, पाकिस्तान, बंगलादेशलगायतका प्रतिनिधिको पनि सहभागिता थियो । कार्यक्रममा नेपालले सुर्तीजन्य पदार्थको क्षेत्रमा लगाउँदै आएको कर अत्यधिक कम भएको दाताहरूले बताएका छन् । लामो समयदेखि सुर्तीजन्य पदार्थको क्षेत्रमा काम गर्दै आएका एक्सन नेपालका अध्यक्ष चन्दले सुर्तीजन्य पदार्थमा लगाइएको कर कम भएको भन्दै वृद्धि गरी ७० प्रतिशत पुर्याउनुपर्ने बताए ।

सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी संस्था एक्सन नेपालले सार्कस्तरीय टोबाको कन्ट्रोल लिडरसिप तालिम गरेको छ । अन्तर्राष्ट्रिय संस्था द युनियन र जोन हप्किन्सको सहयोगमा आयोजित सो तालिममा सार्कस्तरीय आठवटा देशका झन्डै ७० जनाले सहभागिता जनाएका थिए । यसै सन्दर्भमा नयाँ पत्रिका दैनिकले तालिम दिन आएका जोन हप्किन्स युनिभर्सिटी, द युनियनका प्रतिनिधि, तालिम लिन आएका सार्क राष्ट्रका केही उच्च अधिकारी, नेपाल सरकारका प्रतिनिधि, व्यवस्थापिका संसद्का सदस्य तथा अन्य सरोकारवालाबीच अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

भूकम्पभन्दा सुर्तीजन्य पदार्थको विपत्ति ठूलो
ग्यान क्वान
निर्देशक, दी युनियन
सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि काठमाडौंमा भएको दक्षिण एसियाली नेतृत्व तालिम सफल रूपमा सञ्चालन भएकोमा म सुर्तीजन्य पदार्थविरुद्धको अन्तर्राष्ट्रिय संस्था ‘द युनियन’ चाइना अफिसको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु । जसका निम्ति हामी ‘द युनियन’ का तर्फबाट जुनसुकै साझेदारी तथा सहयोग गर्न तयार छौँ । दक्षिण एसियाली देशमा हेर्दा सुर्तीजन्य पदार्थमा नेपालले लगाएको कर निकै कम छ । नेपालको नीति निर्माणकर्ताले दिएको सूचनाअनुसार करको दायरा २८ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउने नीति तयार हुँदै छ । जसको निम्ति म र मेरो संस्था ‘द युनियन’ ज्यादै आभारी छौँ ।

चुरोट तथा सुर्तीजन्य पदार्थमा कर बढाउनु भनेको यस्ता पदार्थको सेवन दर घटाउनु हो । नेपालमा दुई वर्षअघि विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । त्यसको पीडाबाट नेपाली बिस्तारै माथि उठिरहेका छन् । भूकम्पको क्षतिले समग्र विश्वमा गहिरो दुःख दिएको थियो । विश्वभर नेपालीको पीडामा मलम लगाउने आवाज उठे । त्यतिवेला नौ हजार नेपालीको ज्यान गएको थियो । वास्तवमै त्यो ठूलो विपत्ति थियो ।

हाम्रो देश चीनमा पनि म सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी काम गर्दै थिएँ । सन् २००८ तिर त्यस्तै विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । त्यतिवेला झन्डै १० हजार व्यक्तिले मृत्युवरण गर्न पुगेका थिए । तर, भूकम्पको त्यो विपत्तिभन्दा तीन गुणा बढी मानिसलाई हरेक वर्ष चुँडेर लाने अर्को महाविपत्तिका विषयमा भने हामीले पर्याप्त कदम नै चाल्न सकेका छैनौँ । त्यो महाविपत्ति हो, धूम्रपान र सुर्तीजन्य पदार्थ । जसका कारण हरेक वर्ष २५ हजारभन्दा बढी नेपालीको अकालमा ज्यान गइरहेको छ । यो संख्या निकै ठूलो हो । एक वर्षमै यति धेरै नागरिकको ज्यान लिने यो महामारीलाई रोक्न सकिन्छ । यतातिर सबैको ध्यान जान आवश्यक छ ।

चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनलाई कम गर्दै लैजाने कानुनअनुसार ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्ने व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । अर्को महत्वपूर्ण कुरा यस्ता पदार्थको प्रयोग दरलाई कम गर्दै लैजान नेपाली करको दरमा वृद्धि गर्नुपर्छ । चुरोट तथा सुर्तीजन्य पदार्थमा लगाइने करलाई भारी मात्रामा वृद्धि गरेर नेपालले ठूलो राजस्व उठाउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here