बढ्न सकेन विद्युतीय कारको आकर्षण

0
669

नेपाली बजारमा स्कुटरको संख्या बढ्दो छ । अहिले स्कुटरप्रति युवा आकर्षण बढ्दै गएको छ । धेरै खाल्डाखुल्डीयुक्त सडकमा गुड्न अप्ठेरो हुने मात्र होइन, थोरै इन्धन अट्ने ट्यांकी र लामो यात्रामा जान सहज नभए पनि सहरी क्षेत्रमै मात्र सवारीका लागि पनि स्कुटर किन्ने युवाको संख्या पछिल्लो समय बढ्दै गएको हो । स्कुटर एउटा फेसनका रूपमा विस्तार हुँदै गएको छ ।

देशकै लागि व्यापार घाटा घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विद्युतीय कार भने योभन्दा धेरै टाढा रहेको छ । प्रतिकिलोमिटर एक रुपैयाँको बिजुलीमा गुड्न सकिने भए पनि मानिस अहिले पनि पेट्रोल र डिजेल इन्जिनका कारप्रति नै आकर्षित भएको पाइन्छ ।

देशको वर्षभरिको कुल निर्यातबराबर इन्धन मात्र आपूर्ति गर्न नपुग्ने अवस्थामा इन्धन आयात बढे पनि सरकारले विद्युतीय सवारीसाधन उपयोग बढाएर व्यापार घाटा घटाउने मात्र होइन, वातावरण संरक्षणमा एक कदम अघि बढ्न सक्ने सर्वसाधारणको सोच छ । नेपालमा बिक्री सुरु गरेको धेरै वर्ष भइसक्दा पनि बजारमा विद्युतीय सवारीसाधन आक्कलझुक्कल मात्र देखिन्छ । विद्युतीय सवारीसाधन स्कुटरजसरी फेसन बन्न सकेका छैनन् ।

विद्युतीय कार उत्पादन गर्दै हुलास मोटर्स
नेपालकै एक मात्र मोटर उत्पादक कम्पनी हुलास मोटर्स प्रालि विद्युतीय कार उत्पादन गर्ने प्रक्रियामा रहेको छ । कम्पनीका निर्देशक सुरेन्द्र गोल्छा भन्छन्, ‘हामी अहिले काम गरिरहेका छौँ । ६ देखि ८ महिनामा विद्युतीय कार उत्पादन बजारमा ल्याउँछौँ ।’ सरकारले विदेशबाट तयारी ल्याउँदा र यहाँ एसेम्बल गर्ने उद्योग राखेर काम गर्दा खासै फरक नजरले हेर्न नसकेकाले पनि समस्या भएको उनको भनाइ छ ।

विद्युतीय कारको मूल्य १३–३० लाखसम्म
भविष्यमा देशमा विद्युतीय कारको महत्व बढ्दै जाने उनको बुझाइ छ । अहिले हुलास मोटर्स प्रालिले १३ लाख रुपैयाँदेखि ३० लाख रुपैयाँसम्म पर्ने विद्युतीय कार निर्माण गर्न लागेको गोल्छाले जानकारी दिए ।

उनले भने, ‘यसलाई फेसनका रूपमा अघि बढाए देश र नागरिक दुवैलाई ठूलो फाइदा हुन्थ्यो ।’ गोल्छाले सरकारी नीति स्थायी नहुनाले औद्योगिक वातावरण नभएको बताए । पहिले जिप उत्पादन गर्न सुरु गर्दा सरकारले कर नलिने नीति भएकोमा एक वर्षमै नीति परिवर्तन भएकाले मर्कामा परेको र सफल हुन नसकेको उनको जिकिर छ ।

देशमा विद्युतीय सवारी एसेम्बल गर्दा पनि ठूलो मात्रामा विदेशी मुद्रा विदेश जानबाट रोकिने र देशमा विद्युतीय कार उपभोग बढेर पेट्रोलियम खपत घट्दा मुलुक आर्थिक रूपमा समृद्ध हुने गोल्छाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here