१३ दिने संस्कार तीन दिनमै सकिने : क्रिया कर्म संस्कारमा परिवर्तन ।

0
448

बैशाख २० काठमाण्डौ । नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ दिने मृत्यु संस्कारलाई सुधार गर्दै कम्तीमा तीन दिन र बढीमा पाँच दिनमा मृत्यु संस्कार सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

मौर्य वंशको पतनपछि इसापूर्व १८५ तिर भार्गवले लेखेको मनुस्मृतिमा गैँडाको मासु प्रयोग गर्न हुने लेखिएको र यसभन्दा अघि ब्राह्मणले मृत्यु संस्कारमा क्रियामा बस्दा खसी काटेर भोज खाने प्रचलन रहेकोमा पछि सुघार गर्दै मासुमा बर्जित गरिएको जानकारी दिइयो।

छोराछोरी विदेशमा रहने सामाजिक समस्या, १३ दिनसम्म नुन नखाई क्रिया बस्दा क्रिया बस्नेको नै मृत्यु भएका घटना, मृत्यु संस्कारमा रहेका विकृति न्यूनीकरण गर्नुपर्ने, वैज्ञानिक तथा स्वास्थ्यको दृष्टिकोणबाट पनि लामो दिनसम्म क्रिया बस्नु उपयुक्त नभएकाले नयाँ दृष्टिबाट समाजले सोच्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा दर्शनशास्त्री डा विष्णु प्रभातले मायावर जुगमा यस्तो व्यवस्था नभएको र त्यस बेला जाडो ठाउँमा शवलाई काटेर चरालाई खुवाउने गरिएको, जमिन पर्याप्त भएको बीचको क्षेत्रका मानिसले शव गाड्ने प्रचलन रहेको र गर्मी क्षेत्रका मानिसले शव गन्हाउने र वरिपरिको क्षेत्र दुर्गन्धित हुने हुनाले जलाउने गरिएको जानकारी दिए।

वर्षी बस्दा सेतो लुगा लगाउने प्रचलन चिनियाँ बुद्धिष्टबाट नेपाली हिन्दूले सिकेर प्रयोगमा ल्याएको, स्वस्थ्य मानिसले मात्र क्रियामा बस्ने हो भनी शास्त्रमा उल्लेख
भएको जानकारी दिइयो।
उनले मृत्यु संस्कारमा सुधार गर्दा पुरोहितको पेसा नै सङ्कटमा पर्नेबाहेक अन्य विमति नरहेको चर्चा गरे। अर्का विद्वान् मोदनाथ प्रश्रितले १३ दिने मृत्यु संस्कार स्वास्थ्यको दृष्टिकोण, विज्ञान सम्मत दृष्टिकोण तथा समयको बचतको दृष्टिकोणले पनि सुधार गरी तीनदेखि पाँच दिनमा सकिनुपर्ने धारणा व्यक्त गरे।

उनले थपे– “एकथरि मानिसले काजक्रिया गर्दै नगरेको, अर्को थरिले बहिस्कार गर्ने तथा कतिपयले सेतो लुगाको सत्ता खरानी रङ्गको लुगा लगाउने वा वर्षी फुकाल्ने प्रचलन बढ्दै गएको छ । त्यसैले रुढिगत ढङ्गले अघि बढ्ने होइन कि समयसापेक्ष सुधार गर्नुपर्छ ।”

डा जगमान गुरुङले समाजमा देखिएका विकृतिलाई सुधार गर्नुपर्नेमा जोड दिँदै तर क्रिया मान्ने नमान्ने स्वतन्त्रता व्यक्तिलाई दिनुपर्ने विचार व्यक्त गरे।

विद्वान् संस्कृतविद् भिक्तर प्रधानले २००७ सालदेखि २०६६ सालसम्म नेपालमा मृत्यु संस्कारमा सुधार गर्नुपर्नेमा विभिन्न समयमा परिवर्तन तथा सुधारको पक्षमा आवाज उठाउनुका साथै छलफल निरन्तर चलिरहेको बताए।
उनले किराँत, राई, तामाङ तथा लामाले मृत्यु संस्कारमा सुधार गरी तीन दिनमा झारेको, थारु जातिको पूर्वदेखि पश्चिमसम्म फरकफरक रहेको, पश्चिममा फारसीले जस्तै मृतकको शवलाई काटेर चरालाई खुवाउने प्रचलन रहेको भन्दै समयसापेक्ष रुपान्तरण र परिवर्तनको खाँचो रहेको बताए।

कार्यपत्र प्रस्तोता डा प्रेम खत्री र शङ्करप्रसाद पोखरेलले शास्त्रीय आधार र परम्परागत संस्कारको लोप हुने अवस्थाबाट जोगाउन नयाँ युवा पिँढीलाई कार्य बोझका बीच जोगाई राख्न मृत्यु संस्कारमा सरलीकरण गर्नुपर्ने बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आफ्नो संस्थाले संस्कृतिले सिर्जना गरेको मर्म नाघ्न खोजेको होइन भन्दै संस्कारलाई समयअनुरुप जीवनसँग जोड्दै अद्यावधि गर्न यो विषय छलफलमा ल्याएको बताए।

उनले प्रज्ञाप्रतिष्ठानले संस्कारको सङ्कलन गरी पाँचौँ भागसम्म प्रकाशमा ल्याइसकेको जानकारी दिए।( रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here