सावधान, हामीले पिउने दुधमा मिसावट : २० वटा दुग्ध पदार्थ उत्पादन गर्ने डेरीविरुद्ध मुद्दा दायर ।

0
179

जेष्ठ २ काठमाण्डौ । खाद्यान्नसरह दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरीहरूमा अत्यधिक समस्या देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न डेरीहरूले उत्पादन गरेको दुग्ध पदार्थको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार उजुरी र अनुगमनका क्रममा शंकाको आधारमा नमुना परीक्षण गरिएको थियो ।

परीक्षणको क्रममा बढी कैफियत भेटिएका डेरी, तेल, पानी उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको हो । विभागको तथ्यांकअनुसार ९ महिनाको अवधिमा १ सय १३ विरुद्ध मुद्दा दर्ता भएको छ ।

जसमध्ये २० वटा दुग्ध तथा दुग्ध पदार्थ उत्पादन गर्ने डेरीविरुद्ध मुद्दा दायर भएको छ । ‘दूध, दही न्यून गुणस्तर र दूषित भेटिएपछि सम्बन्धित जिल्ला कार्यालयमा मुद्दा दर्ता गरेका छौं,’ उनले भने । डेरी उद्योगले उत्पादन गर्ने प्रशोधित दूधमा कोलिफर्म भेटिएको छ । दूषित भेटिएपछि सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान, बालाजु र लैनचौरविरुद्ध पनि मुद्दा दायर भएको विभागको तथ्यांकमा छ । लैनचौरमा दही दूषित र बालाजुमा प्रशोधित दूध दूषित पाइएको थियो । प्रशोधित दुग्ध भनेपछि सीधै खान मिल्छ । तताउनु पर्दैन ।

तर, संस्थानको दूध परीक्षण गर्दा कोलिफर्म फेला परेको हो । सरकारी स्वामित्वबाहेक निजी डेरीमा पनि उस्तै समस्या देखिएको विभागले जनाएको छ । थानकोटमा रहेको चन्द्रागिरि डेरी प्रालिले पनि प्रशोधित दूध दूषित उत्पादन गरेको आरोपमा विभागले मुद्दा दायर गरेको छ ।

सञ्जीवनी डेरी उद्योग, सुजल डेरी प्रालि थानकोट, नारायणी मिल्क हेटौंडा, श्रीराम घिउ प्याकेजिङ उद्योग, ललितपुर, चन्द्रेश्वर किराना पसलविरुद्ध पनि मुद्दा दायर भएको छ । यस्तै दिव्य डेरी उद्योग हेटौंडा, चन्द्रेश्वर किराना पसल, सुजल डेरी प्रालि पोखरा, सिर्जना सहकारी संस्था, शक्ति फुड्स, मिल्कमान्डु डेरी प्रालि, ललितपुर, संयुक्त डेरी एन्ड बेभरेज इन्डस्ट्रिज, नेपाल डेरी प्रालि धापाखेल र संयुक्त डेरी एन्ड बेभरेज इन्डस्ट्रिजविरुद्ध पनि मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । ती उद्योगलई खाद्य ऐन २०२३ अनुसार मुद्दा दायर गरिएको हो । मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालयमा दायर गरिएको छ ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार बजारमा करिब २० प्रतिशत खाद्य वस्तुहरू कम गुणस्तरका छन् । ती वस्तुहरूलाई नियन्त्रण गर्न विभाग प्रयासरत रहेको उनले बताए । ‘उजुरी र बजार अनुगमनका क्रममा शंका लागे नमुनाहरू परीक्षण गरेका थियो,’ उनले भने, ‘परीक्षण गरिएको नमुनामध्ये १ सय १३ विरुद्ध मुद्दा दर्ता गरेका छौं ।’
दुग्ध जन्य पदार्थबाहेक मिठाई, बर्फी, लड्डु, चुक अमिलो, फलरस उत्पादन गर्ने व्यावसायिक फर्म विरुद्ध पनि मुद्दा भएको जनाएको छ । परीक्षणका क्रममा सबैभन्दा बढी तेल तथा घिउजन्य पदार्थमा समस्या देखिएका २५ उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको जनाइएको छ । तेल परीक्षण गर्दा एसिड भ्यालु बढी देखिएको जनाइएको छ । तेलमा एसिड भ्यालु बढी हुँदा अपचको समस्या आउँछ । छालाको समस्या, पाचन प्रक्रियामा पनि गडबडी हुन्छ । अन्तत: क्यान्सर हुन सक्ने जनाएको छ ।

प्रशोधित पिउने पानी पनि प्रतिकूल देखिएको छ । बढी कैफियत भेटिएका १८ पानी उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । खाद्य ऐनअनुसार कमसल खाद्य वस्तु बिक्री हुँदा सुरुमा १ हजार रुपैयाँ मात्रै जरिवाना छ । पटकपटक गल्ती गरे १० हजार रुपैयाँसम्म मात्रै जरिवाना हुने प्रावधान छ ।

महिनाभरि खाद्य स्वच्छता दिवस मनाइने
विभागले जेठ महिनाभरि खाद्य स्वच्छता दिवस मनाउने घोषणा गरेको छ । खानपानका कारण उत्पन्न हुने विभिन्न प्रकारका रोगबारे जनचेतना उपलब्ध गराउने उद्देश्यले मुलुकभरि ‘दसौं खाद्य स्वच्छता दिवस र दोस्रो खाद्य स्वच्छता महिना’ का रूपमा मनाउन सुरु गरिएको हो ।

विभागमा महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार विश्व खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संघको संयुक्त आयोगको ३० औं बैठकले जुन महिनाको ७ तारिखलाई अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाउन निर्णय गरेको थियो । सोहीअनुसार नेपालमा यो दिवस मनाउन लागिएको हो । ‘विभागसहित क्षेत्रीय कार्यालयहरू विराटनगर, हेटौंडा, भैरहवा, नेपालगन्ज र धनगढीमार्फत सबै जिल्लामा यो दिवस मनाउन लागेका छौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘दिवसको अवसरमा खाद्य स्वच्छताबारे विभिन्न प्रकारका सन्देशमूलक र जानकारीमूलक सन्देश सर्वसाधारणलाई उपलब्ध गराउनेछौं ।’ स्रोत कान्तिपुर समाचार बाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here