नेपाली तन्नेरीहरुमध्ये धेरै कुन टिमको समर्थनमा होलान् ? ।

0
435

असार १ काठमाण्डौ । रुसमा विश्वकप फुटबल सुरु हुँदै गर्दा त्यसको तंरग कोसौं टाढा रहेका दक्षिण एशियाली मुलुक नेपालमा पनि फैलिएको छ । विश्वकपको पहिलो म्याच सुरु हुनुभन्दा ठीकअघि हामी काठमाडौंका चोक-चोकमा फन्को लगाइरहेका थियौं, फुटवलका क्रेजी फ्यान खोज्दै ।

मध्यन्हको चर्को गर्मीमा तन्नेरीहरुलाई विश्वकपको ज्वरोले च्यापिसकेको थियो । उनीहरु आफुले समर्थन गरेको टिमको जर्सीमा ठाँटिएर उमंगमय भावमा हिँडिरहेका थिए । उनीहरुलाई समातेर हामीले आजको म्याचबारे प्रश्न गर्‍यौं ।

तर, विश्वकपको पहिले खेललाई कसैले उति महत्व दिएको पाइएन । न रसियालाई हुटिङ गर्ने भेटिए, न साउदी अरबको पक्षमा ताली पड्काउने । आजको खेललाई निरपेक्ष आँखाले हेर्ने नेपाली दर्शकहरु खेल हेर्न भने नछुटाउने मनस्थितिमा देखिए ।

ब्राजिल भर्सेस अर्जेन्टिना

नेपाली तन्नेरीहरुमध्ये धेरै कुन टिमको समर्थनमा होलान् ? यसको जवाफ दिनका लागि मगजले त्यति भार उठाउनुपर्दैन । सहजै जवाफ दिन सकिन्छ, ब्राजिल र अर्जेन्टिना ।

धेरैजसो नेपाली फ्यानहरु ब्राजिलको पहेंलो जर्सीमा वा अर्जेन्टिनाको सेतो र आकासे निलो धर्के पहिरनमा भेटिन्छन् । हामीले दरबारमार्ग, ठमेल, सुन्धारा, बसन्तपुर, त्रिपुरेश्वर, बानेश्वरको फन्को लगाउँदा यस्तै जर्सीमा ठाँटिने तन्नेरीको झुन्ड बढी भेट्यौं । त्यसबाहेक स्पेन, इंगल्यान्ड, जर्मनी लगायत मुलुकका समर्थक पनि फाट्टफुट्ट भेटिए ।

आखिर नेपाली तन्नेरी किन ब्राजिल वा अर्जेन्टिनाका फ्यान भए होलान् ?

अर्जेन्टिनाको समर्थन गर्नुको एउटा कारण अहिलेका स्टार फुटबलर लियोनल मेसी पक्कै हुन् । तर उनी मात्रै एक्ला कारण होइनन् । अर्जेन्टिनासँग नेपालीहरु भावनात्मक रुपमै जोडिएका छन्, जतिबेला डिएगो म्याराडोनाको अभिव्यक्ति सार्वजनिक भयो । एक खेलमा इंगल्यान्डलाई पराजित गरेपछि उक्त जितको कारण खुलाउँदै उनले भनेका थिए, ‘यसपाली इंगल्यान्डसँग गोर्खालीहरु थिएनन् ।’

भलै, उनको यो कुटनीतिक अभिव्यक्तिको आशय फरक होला । तर, म्याराडोनाको यही अभिव्यक्तिले सारा नेपाली अर्जेन्टिनाका प्रशंसक भइदिए ।

यसैगरी जतिबेला नेपालमा टेलिभिजन युगको प्रारम्भ हुँदै थियो, त्यसताकाको विश्वकपमा ब्राजिलको हाइहाइ थियो । पहिलोपटक १४ इन्चको व्ल्याक एन्ड ह्वाइट टेलिभिजनमा ब्राजिलको पक्षमा ताली पड्काएका दर्शकहरुमा आजसम्म त्यो ह्याङ छुटेको छैन ।

यद्यपी यस्ता समर्थक पनि छन्, जो खेलाडी, खेल-शैलीबाट प्रभावित भएर यी टिमहरुको पक्षमा हुटिङ गरिरहेका छन् ।

कोही खाँटी समर्थक, कोही ख्याल-ख्यालकै

दरबारमार्गमा एक किशोरी भेटिइन्, ब्राजिलको जर्सीमा सजिएकी । तर, उनले खुलेर कुराकानी गर्न आनाकानी गरिन् । खासमा उनलाई फुटबलको क्रेजले भन्दा पनि लहडले तानेको रहेछ ।

यस्तै जर्मनीको जर्सी पहिरिएका एक युवक पनि ‘वर्ल्डकपको फ्लेवर दिन’ त्यसरी ठाँटिएका रहेछन् । उनले हाकाहाकी भने, ‘खासमा म जर्मनीको फ्यान भएर यो जर्सी लगाएको होइन, वर्ल्डकपको माहौल भएर मात्र हो ।’

त्रिपुरेश्वरमा अर्का तन्नेरी भेटिए, इंल्यान्डका फ्यान । उनी भने खाटी फ्यान रहेछन् । नाम तारा मुखिया । उनले विश्वकपको मोटामोटी भविष्यवाणी पनि सुनाइदिए । कुन खेलाडी, कस्ता भन्ने विश्लेषण गरे । हामीले सोध्यौं, ‘यसपाली कसले जित्छ त ?’

‘इंगल्याण्डले’ उनले निर्धक्क भने, ‘किनभने यसपाली इंगल्यान्डसँग जोशिला केटाहरु छन् । फुटबल भनेको टिम वर्कले जित्ने खेल हो । उसको टिमवर्क राम्रो छ ।’

उनले इंगल्यान्डको यो टिमसँग वर्ल्डकपको अनुभव नभए पनि इंङ्लिस प्रिमियर लिगमा धेरै राम्रो पर्फमेन्स देखाएका खेलाडीहरु रहेको बताउँदै थपे, ‘साथै रसियाको कपिपय शहर र इंगल्याण्डको मौसमी तापमान पनि मिल्दो छ ।स्रोत अनलाइन खबर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here