कृषकले सडकमा दूध घोप्टाएर विरोध गरे किन होला त ? |

0
318

असार ३ काठमाण्डौ | कृषकले उत्पादन गरेको दूध बिक्री नभएपछि दक्षिणी झापा गाउँपालिका ६ शरणामतीका कृषकले सडकमा दूध घोप्टाएर विरोध गरेका छन् । कृषकलाई विगत ४ वर्षदेखि नेपाल बहुउद्देश्यीय सहकारी लिमिटेड (एनएमसी) मेचीनगरबाट सञ्चालित एमएनसी डेरीले ऋण दिएर गाईपालन गर्न लगाएर अहिले दूध खरिद नगरेको भन्दै उनीहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । एनएमसी डेरीको शरणामती चिस्यान केन्द्रमा मात्रै दैनिक तीन सय दूध कृषकले तीन हजार ५०० लिटरसम्म दूध बिक्री गर्दै आएको थिए ।

तर, एक महिनादेखि कहिले हप्ताको एक दिन त कहिले हप्ताको दुई दिन चिस्यान केन्द्रले दूध होलिडे गर्दै आएको छ । पछिल्लो समय डेरीको दूध चिस्यान केन्द्रको भाँडो बिग्रिएर चार दिनदेखि दूध लिन गाडी नआएपछि कृषकहरु थप मारमा परेका हुन् । कृषकहरुले दैनिक उत्पादन गरेको दूध गाउँमा समेत सित्तैमा बाढ्नु परेको भन्दै उनीहरुले एमएनसीको भ्याट केन्द्र अगाडिको सडकमा दूध पोखेर विरोध गरेका हुन् । स्थानीय कृषक चन्द्रबहादुर कार्की कृषकहरुलाई पहिले अनेकथरि सपना बाँडेर एक लाख २० हजार रुपैयाँसम्मको लागतमा विकसित गाई खरिद गर्न लगाएर हाल दूध खरिद नगर्दा लिएको ऋणको साँवा ब्याज तिर्न नसकेको बताए ।

‘पहिले कृषकलाई टाइसुट लगाएर हिँड्ने बनाउँछौँ भन्दै गाउँ छिरेका थिए, अहिले रुँदै हिँड्ने बनाए’, कार्कीले भने । पहिले यस क्षेत्रका कृषकले उत्पादन गरेको दूध भारतको दिघलबैंक तथा बहादुरगञ्जसम्म पुर्याएर बिक्री गर्दै आएका थिए । तर, गाउँमै चिस्यान केन्द्र खुलेपछि भारत दूध बिक्री गर्न लैजान छाडेर सबै कृषकले डेरीलाई प्रतिलिटर ४० रुपैयाँदेखि ५० रुपैयाँसम्ममा दूध बिक्री गर्दै आएका थिए । चिस्यान केन्द्रले दूध लिन छाडेपछि एक लाख रुपैयाँसम्ममा खरिद गरेको गाईसमेत ३० हजारमा बिक्री हुन छाडेको स्थानीय कृषक मदन खत्रीले बताए । यस क्षेत्रका कृषकको दैनिक १ लाख ५० हजार मूल्यको दूध फाल्नु परेको खत्रीको भनाइ छ ।

यसैबीच, एनएमसी डेरीका बजार प्रबन्धक नवराज अधिकारीले हाल एनएमसी डेरीमा दैनिक १८ हजार लिटरसम्म दूध जम्मा हुने गरेको तथा बजारमा दैनिक १२ हजार लिटरमात्रै बिक्री हुने गरेकाले आपूmहरुले बाध्य भएर मिल्क होलिडे गर्नु परेको बताए । उनले सानो लगानी गरेर एकदुईवटा गाई पाल्ने कृषकलाई यसले असर नगरे पनि ठुलो लगानी गरेर गाईपालन फर्म सञ्चालन गरिरहेका कृषकलाई भने मर्का परिरहेको बताए । सरकार वा निजी क्षेत्रबाटै यस क्षेत्रमा दूध पाउडर उद्योगको सञ्चालन नगरेसम्म बर्सेनि कृषकले मिल्क होलिडेको समस्या व्योहोर्नुपर्ने अधिकारीले बताए । कृषकले दूध उत्पादन बढाउन घाँसको साटो दाना र क्याल्सियस चक्की खुवाउने गर्दा समेत दूध बिक्री नहँदा ठुलो नोक्सानी व्योहोर्नु परेको हो । जेठ र असार दुई महिनामा कृषकको बढी दूध उत्पादन हुने हँदा समेत दूध फ्याँक्नुपरेको शरणामती दूध चिस्यान केन्द्रका धनपति रिजालले बताए ।

स्रोत ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here