तिलोत्तमा नगरपालिकाले वेवारिसे व्यक्तिको उद्दार गरेको छ |

0
122

असार ४ काठमाण्डौ |रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मणिग्राम चोकमा लामो समयदेखि बस्दै आएका वेवारिसे व्यक्तिको उद्दार गरी पालनपोषण र उपचारका लागि भरतपुर पठाएको छ ।

झण्डै ४ वर्षदेखि मणिग्राम चोकमा बस्दै आएका ती व्यक्तिको संरक्षक पत्ता नलागेसम्म अभिभावकत्व लिने गरी नगरपालिकाले भरतपुर–१० बाइपासरोडस्थित मानवसेवा आश्रम पठाएको हो । स्थानीय वासिन्दाका अनुसार ती व्यक्ति दिनरात मणिग्राम चोकको खुला आकाशमुनि बस्दै आएका थिए । स्थानीय वासिन्दाले दिएको खानेकुराले पेट भर्ने गरेका ती व्यक्ति भिषण पानी, टन्टलापुर घाम वा हुरीबतास चल्दा समेत खुला आकाशमुनि बस्दै आएका थिए ।

मणिग्राममा सडक विस्तार नहुँदासम्म ती व्यक्ति विद्युत् ट्रान्समिटर मुनि बस्दै आएका थिए । तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार वीपी गौतम र तिलोत्तमा व्यापार संघका द्वितीय उपाध्यक्ष रामचन्द्र पाण्डेको विशेष सक्रियतामा ती व्यक्तिलाई मानवसेवा आश्रम पुर्याइएको हो । व्यापार संघले ती व्यक्तिको उद्दारका लागि २० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सम्बद्ध संघसंस्था तथा निकायको सहकार्यमा वेवारिसे सडक मानवको उद्दारका लागि नगरपालिकाले आगामी दिनमा पनि पहल गर्ने बताए । स्थानीय वासिन्दाको समेत सहयोगमा ती व्यक्तिलाई नुवाइ–धुवाई गराएर नयाँ कपडा लगाएर भ्यान रिजर्भ गरी नगर प्रहरी हस्ते भरतपुर पठाइएको नगरपालिकाकी महिला विकास अधिकृत भगवती अर्यालले जानकारी दिए । ती व्यक्तिको उद्दारप्रति मणिग्रामवासीले खुशी व्यक्त गरेका छन् ।

‘जस्तोसुकै अवस्थामा पनि खुला आकाशमुनि बस्दै आएका ती व्यक्तिको उद्दारले हामीलाई स्थानीय सरकारको अनुभूति गराएको छ,’ स्थानीय बाबुराम पाण्डेले भने, ‘सडकमा अरु मानव पनि होलान । तर, यिनको अवस्था अत्यन्त हृदयविदारक थियो ।’ शहरीकरण तीव्र भइरहँदा तिलोत्तमामा पनि सडक मानवको समस्या देखिन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here