तिरस्कार बाट बनेको सफल जीवन : फलफुल ब्यापारी, शरद साह”।

0
550

असार १४ काठमाण्डौ । कथा थोत्रो साइकलबाट सुरु गरौं, जुन उनले पाँच सयमा खरिद गरेका थिए । कवाडीबाट उठाएको साइकललाई डेढ सय खर्च गरे र गुड्न सक्नेसम्म बनाए । साइकलको चेन थिएन । चेन नभएपनि बाल मतलब । ह्यान्डिलमा हातले समातेर गुडाउनु जो थियो । गुडिहाल्थ्यो ।

चार वर्षदेखिको सपना पूरा हुँदाको रात उनलाई अबेरसम्म निद्रा परेन । असनको कुनै ओसिलो र साँघुरो कोठामा दिनभर थाकेको ज्यान सुताइसकेका थिए अरु साथीहरु । तर, शरद साह कहाँ निदाउनु ? मनमा के-के कुरा खेलिबस्यो । उनी फुरुङ्ग थिए । दंगदास थिए ।

खुसी । कति सानो कुरामा पनि मिल्ने रहेछ यो चिज ?

तर, शरद साहको लागि यो थोडी सानो कुरा थियो ? चार बर्ष असन, इन्द्रचोक, भेडासिंगमा पसिना चुहाएपछि जोडेको ‘माल’ थियो । पाँच सयको साइकल !

यही साइकल ल्याएपछि त हो, उनको टाउकोको बोझ हलुंगो भएको । त्यसअघि पन्ध्र केजीको भार टाउकोमा चढाएर असन-इन्द्रचोकदेखि कहिले बानेश्वरसम्म त कहिले कालिमाटीसम्म चक्कर लगाउँथे । यसो भन्दै, ‘लौ सस्तो-सस्तो फलफूल । लिने हो हजुर ?’

यसैगरी उनले काठमाडौंको कठ्यांग्रिने हिउँद गुजारे, कति-कति । यसबीचमा विवाह गरे । तीन बालबच्चा भए । र, सबैभन्दा बढिया वात त के छ भने, उनले डेढ तलाको पक्की घर ठड्याए । पुस्तौ-पुस्ताले गुजार्दै आएको झुपडीबाट आफ्ना परिवारलाई सिमेन्ट, इँटा, रडबाट निर्मित मजबुत घरमा स्थानान्तरण गरिदिए ।

‘यी यस्तै पक्की घर’ साइकलको भार आफ्नो कम्मरमा थमाइरहेका शरदले अघिल्तिरको घर देखाउँदै बडो फुर्तिसाथ भने, ‘बनाएको छु गाउँमा ।’ त्यसपछि उनले देव्रे आँखा झिम्काए, ‘कस्तो लाग्यो ?’ वा ‘देख्यौ त ?’ भावमा ।

साइकल अर्थात एक जीवन

‘यो साइकल किनेको कति भो था, छ ?’ उनको प्रश्न ।

जवाफ उनकै, ‘अठार वर्ष ।’

कवाडीबाट उठाएर ल्याएको साइकलसँग उनको अनौठो दोस्ती भइदियो । उनले आफ्नी पत्नीसँग त्यती समय गुजारेकी छैनन्, जति साइकलसँग । जीवनको डेढ दशक कम हो र ? यत्तिका अवधी उनी सबैभन्दा बढी एकाकार भएको भनेको त्यही साइकलसँग नै हो ।

घर त उनले वर्षौंअघि छाडेका थिए । त्यसबेला उनको उमेर कति थियो ? उनीसँग ठ्याक्कै हिसाब किताब छैन । तर, जतिबेला उनले बिहार, रक्सौलको घर छाडेर नाइटबसमा चढी काठमाडौं हिँडे, त्यसबेला उनी आठ कक्षा पढ्दै थिए । घर किन छाडे ? पढाई किन छाडे ?

‘थोडी रहरले छाड्छ ?’ उनी जंगिए, ‘दु:ख परेपछि के गर्नु त ?’

बुबा बिते । उनी सानै थिए । तर, घरको जेठो । अब बुढी आमा र साना भाइ-बहिनीलाई खुवाउने-पिलाउने जिम्मा उनीमाथि आइलाग्यो । जग्गा जमिन थिएन । खेती थिएन । चौपाया थिएन । उद्यम थिएन । आयआर्जनको स्रोत थिएन, केहीपनि । अब गर्ने के त ?

गाउँका ठूला-बडाहरु काठमाण्डु जान्थे, व्यापार गर्न । एक साँझ उनलाई पनि झ्वांक चल्यो । पैसा जोरजाम गरे । गाउँकै काका, दाजुहरुको हुलमा मिसिएर काठमाण्डु आइपुगे । काठमाण्डु आउँदा आफूसँगै ढाकी ल्याएका थिए । भएको ज्यायजेथा बस् त्यती नै ।

साथीहरुले कोठा भाडा लिएका रहेछन्, असनमा । कोठ सानो थियो । ओसिलो थियो । अँध्यारो थियो । बस्ने चाहिँ १० जना । राति साथीहरुले पकाएको राटी खाएर सुते, बिहान सबेरै उठ्नु थियो । उठे । साथीहरुले बल्खु लगे । फलफूलका साहु चिनाइदिए । एक ढाकी केरा ल्याए । र, भेडासिंह, असन, इन्द्रचोक घुमे । यसरी चिच्याउँदै, ‘न्यर्का…न्यर्का ।’

उनलाई नेपाली बोल्न नआउने । इन्द्रचोकका नेवारले हिन्दी नबुझ्ने । भुक्तभोगी साथीहरुले सिकाइदिए, ‘न्यर्का बोल । यो भनेको दश रुपैयाँ हो ।’ यति भनेपछि खाँट्टी नेवारले बुझिहाल्छन् कि, ‘केरा दर्जनको १० रुपैयाँ ।’

सुरुको दिन कतिपनि समय लागेन, ढाकी रित्तिन । कोठा फर्किए । खाना खाएर सुते । फेरि बिहान पाँच बजे उठ्नु छँदैछ । केरा ल्याउनु छँदैछ । दिनभर ढाकीमा बोकेर बेच्नु छँदैछ । र, जीवन उसैगरी चलिरह्यो । उस्तै रहिरह्यो । साइकलको पाङ्ग्रा जस्तै । जति घुमेपनि, पुग्ने कहाँ हो र ? एउटै परिधीमा फन्को लगाउने न हो ।

थोत्रो साइकल र जीवनमा के फरक थियो र ? यता जोड्यो, उता खुस्कन्छ । यता टालटुल गर्‍यो, उता भ्वाङ पर्छ । चार महिना त चार इन्चको खल्ती भर्ने पैसा समेत भएन गाँठे !

खुसीहरु पन्चर हुँदा

गरिब भएर बाच्नु साह्रै कठिन । त्यसमाथि अनागरिक । त्यसमाथि ‘भैया’ ।

गल्लीको कुकुरले पनि हेप्ने ।

सम्बोधन गरिने शब्दमा न स्नेह छ, न आदार । ठाडै भनिदिन्छन्, ‘ओ भैया ।’

पसिना गन्हाउने कपडाको मैलो सर्ट, उस्तै पाइन्ट, गलामा गम्छा, खुट्टामा फ्याटफ्याटे चप्पल लगाएर फलफूल बेच्दै हिँड्ने मान्छेभित्र मानवीय संवेदना हुन्न र ? उनको चित्त दुख्दैन र ? उनको मन रुँदैन र ? उनलाई दु:ख पिर छैन र ? उनलाई जहान-परिवार पाल्ने बोझ छैन र ?

तर, शहरभरिका मान्छेहरु भन्छन्, ‘ओ भैया, यसो गर, उसो गर ।’ ‘तपाई’ भन्न पनि कति गाह्रो ? सबैले ‘तिमी’ भन्नैपर्ने । हप्काउनैपर्ने ।

‘गरिखान पनि कहाँ पाइन्छ र,’ उनले दुखेसो पोखे, ‘कसैले लखेट्छन्, कसैले पैसा थुतेर भाग्छन् ।’

एकपटक बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अघिल्तिर त्यस्तै भयो । टाउकोमा ढाकी बोकेर दिनभर फलफूल बेचेर कोठा फर्कंदै थिए । दुई केटा आए मोटरसाइकलमा । जबरजस्ती खल्तीमा हात हाले । भएभरको पैसा खल्ती नै च्यातेर लगे । उनी हेरेको हेर्‍यै भए । देख्नेहरु, नदेखेझै गरे । त्यस रात उनलाई खाना रुचेन । निद्रा परेन । दिनभर टाउकोमा भार बोकेर धुलोमैलो, गर्मी केही नभनी आर्जन गरेको पैसा क्षणभरमै लुटियो । दुःखको कमाइ थियो ।

अर्को पटक बिजुलीबजार पुलमा त्यस्तै दशा आइलाग्यो । फलफूल बेचेर साइकल डोहोर्‍याउँदै डेरातर्फ लाग्दै थिए । पुलकै मुखमा पुगेपछि एउटा केटोले बाटो छेक्यो । त्यसपछि अरु केटाहरु फुत्त-फुत्त निस्किए । खल्तीमा हात हाल्न खोजे । उनले टेरेनन् । पैसा बोकेको खल्ती समातेर यता र उता भागिहिँडे ।

मान्छेहरु ओहोर-दोहोर गरिरेहेकै थिए । बाटोमा गाडी गुडिरहेकै थिए । तर, कसैले उनको विपतमा साथ दिन आएनन् । के, कसो भनेर सोध्दा पनि सोधेनन् । साइकल बाटोमा हुत्याइदिए । र, कुद्दै बबरमहलको प्रहरी कार्यलयमा पुगे । प्रहरीलाई खबर गरे । यसपाली पैसा चोरिएन ।

एक पटक हो र ? पटक-पटक भोगेका छन्, यस्तो । बिहान, फलफूलको भारी बोक्नुपर्ने । दिनभर, हप्काई-दप्काई सहँदै फलफूल बेच्नुपर्ने । साँझ, दिनभरको कमाई लुटिन्छ भन्ने त्रास ।

यो शहरमा उनले कहिल्यै सम्मान पाएनन् । प्रेम पाएनन् । सधैँ अपहेलित भए । सधैँ त्रसित भए । आत्मग्लानी, भय, अपमानले थिचिदा-थिचिदा अब त बानी परिसक्यो । चाहे भैया भनोस्, चाहे हप्की-दप्की गरोस्, चाहे धक्का दिओस्, चाहे लात नै बजारोस् । चुपचाप पन्छिनुमै कल्याण छ । ‘हामीको आँखा रुँदैन’ उनी फिस्स हाँस्छन्, ‘तर, यहाँ रुन्छ ।’ यसो भनिरहँदा उनको हात आफ्नो छातीमाथि हुन्छ ।

दु:ख भुल्न कहिले काहीँ एक/दुई बोत्तल रक्सी ल्याउँछन् । मासु ल्याउँछन् । कोठमा बसेर साथीभाइसँग पिउँछन् । पिएपछि रमाइलो लाग्छ रे । कहिले त पिएपछि दु:ख, पीडा मडारिएर आउँछ रे । त्यस्तो बेला घर सम्झन्छन्, जहाँ उनले बस्न पाएकै छैनन् । पत्नी सम्झन्छन्, जसलाई खुलेर स्पर्श गर्न पाएकै छैनन् । छोराहरु सम्झन्छन्, जसलाई ढाप मार्दै आफ्नो कथा सुनाउन पाएकै छैनन् ।

जीवनको लय टुटेको छ । धून छुटेको छ । तैपनि उनी दुखी छैनन् । दुखी नहुने एउटै कुरा छ, काम ।

काम गरिरहँदा उनलाई टोकरी रित्याउने ध्याउन्न हुन्छ । टोकरी रित्याएपछि जतनसाथ पैसा जम्मा गर्ने ध्याउन्न हुन्छ । पैसा जम्मा भएपछि घर पठाइदिने ध्याउन्न हुन्छ । त्यसपछि पो उनको मनमा सन्तोष हुन्छ ।

थोत्रो साइकल र जीवनको गति

साइकल थोत्रो थियो । मर्मत गरे । साइकल कुद्यो । उनको जीवन पनि ।

त्यही साइकलको टेकोमा उनले जीवनको आड खोजे । काठमाण्डु छिरेको चार वर्षपछि जोडेको साइकल, जोसँग उनको अटुट सहकार्य रह्यो । साइकलसँगै उनले जीवनलाई पनि डोहोर्‍याइरहे । भनिन्छ नि, हिँडे पुगिन्छ ।

घरबाट हिँड्दा हातमा एउटा ढाकी थियो । त्यही ढाकीले साइकल जोडे । साइकलले घर जोडे ।

२२ वर्ष भो, काठमाण्डु छिरेको । यत्तिका वर्षमा उनले थुप्रै कुरा गरे, जुन उनको निम्ति एउटा उपलब्धी हो । आफ्नो बिहे गरे, घर बनाए, दुई बहिनीको बिहे गराइदिए, तीन छोरालाई स्कुल पढाए । इमान, लगाव र श्रमको आर्जन हुन् यी, जसप्रति उनी चौडा छाती बनाएर गर्वसाथ भन्न सक्छन्, ‘पसिना र खुनको कमाई हो, न हावाले उडाउँछ, न पानीले बगाउँछ ।’

ओ भैया, यो आँपको कति ?’

हामीसँग गफिइरहेका बेला कुनै अधबैंशे ग्राहकले अलि कडा स्वरमा सोधिन् ।

‘सौ रुपैयाँ’

‘यस्तो आँपको नि सय ?’

‘असीमा लानुहोस्’ उनले ग्राहक उम्काउन चाहेनन् ।

ढाकीको आँप छामछुम गरेपछि उनले उपेक्षाको भावमा भनिन्, ‘छ्या यस्तो आँप पनि कसैले लान्छ ?’

उनी बाटो लागिन् । यता शरद साह ग्राहकले छरपस्ट पारेको आँप मिलाउन थाले । त्यसैबेला फोटोपत्रकार चन्द्र आलेले क्यामेरा सोझ्याए । ‘अरे, के गर्नुभएको सर’ उनी पन्छिन खोजे, ‘लफडा नगर्नु न ।’

‘किन लफडा ?’ चन्द्रले सोधे ।

‘फेरि फोटो छापियो भने पुलिस आएर खेद्छ’ उनी हच्किए । खासमा उनी लखेटिँदै, लखेटिँदै सिनामंगलको त्यस चस्मा पसल अघिल्तिर आइपुगेका रहेछन् । भन्दै थिए, ‘अस्ति भर्खर यहाँ तलको फलफूल पसलेले खेद्यो । मैले सस्तोमा दियो भने उसको बिक्दैन भनेर ।’

सडकमा हिँड्दै फलफूल बेच्दा स्थानीय फलफूल पसलेले देख्नै नसक्ने । सडक किनारमा प्रहरीले देख्नै नसक्ने । आखिरमा उनले त्यही एउटा पर्खालमा आफ्नो अड्डा जमाएछन् । त्यही झगडा गर्न आइपुगेछन्, स्थानीय फलफूल पसलेहरु । भन्दै थिए, ‘फोटो छापियो भने, लफडा हुन्छ ।’यो समाचार अनलाइन खबर बाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here