काठमाडौँ । ‘स्टुडियो नाईन’ का निर्देशक टिका बुढाथोकीले पछिल्लो समयका चर्चित तथा लोकप्रिय बाल गायक अशोक दर्जीलाई ‘स्वर सम्राट अशोक’ बनाउनको लागि साथ दिन आग्रह गरेका छन्
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बुढाथोकीले केही दिन अघि भाइरल भएको अडियोलाई नितान्तै व्यक्तिगत मामिला भएको दाबी गरेका छन् ।
उनले भने,‘ अशोक दर्जीको बारेमा हामीले जुन भूमिका खेलेका छौँ, त्यसको फरक मूल्याङ्कन होला र छ, तर मैले यति भन्दिन कि अशोक भाइलाई हामीले ल्याएका हौँ, हामीले उनको नाममा जे पनि गर्न पाउनुपर्छ ।’
उनले अघि थपे,‘अशोक र उनको भविष्यसँग खेल्नु अपराधपूर्ण कार्य हो, यो बिल्कुल कानून, अधिकारविपरीत कुरा हो, मैले कुनै व्यक्तिसँग कुनै एउटा योजना सम्पन्न गर्नको लागि गरिएको सम्वाद थियो, आज म यो पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदछु, अशोकलाई आगामी तीन महिनापछि कस्तो मानिस बनाउने ? अशोक सम्राट बनाउने की, हिजोकै स्थितिमा फर्काउने ? यस्ता कुराहरूमा ध्यान दिनुपर्छ, मानिसको जिन्दगीमा प्रत्येक पाइलामा परिचय बदलिरहेको हुन्छ, कतिबेला के काममा भइन्छ, कतिखेर के बोलिन्छ, त्यो व्यक्तिगत कुरा हो ।’
अशोक दर्जीको नाममा आएको पैसाको बारेमा पत्रकारले सोधेको प्रश्नको जवाफमा बुढाथोकीले भने,‘अशोको नामको पैसा करोडौँ आएको छैन्, १५ देखि २० लाखसम्म आएको छ, तर यहाँ त यति ठूलो बनाइँदैछ कि अशोकको नाममा टिका र टङ्कले सबै खाए, त्यो गलत छ, मलाई लगाइएका आरोपहरूको विवादित कुराहरूको सार फरक छ, खातामा आर्थिक कुराको बारेमा केही दिनमा हिसाब सार्वजनिक गर्नेछौ, टंक बुढाथोकी पनि बाहिर छन्, मसँग जोडिएको कुराहरू भएका कारण यहाँ ममात्रै आएको हुँ ।